काठमाडौं । चितवनमा एक युवतीलाई आक्रमण गरेको १० घण्टापछि नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ।
चितवन राष्ट्रिय निकुञ्जको टोलीले भरतपुर–२७ मेघौली नजिककै राधाकृष्ण सामुदायिक वनभित्र बाघ भेटाएको हो।
टोलीमा निकुञ्जका कर्मचारी, सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु चिकित्सक तथा कर्मचारी थिए।
दोस्रो पटक डार्ट गरेर बाघ बेहोस भएपछि पिँजडामा राखिएको हो।
अहिले उक्त बाघलाई चितवन राष्ट्रिय निकुञ्जको कार्यालयमा लगिएको छ। त्यहाँ इन्क्लोजरमा राखिने निकुञ्जले जनाएको छ।
बिहीबार बिहान बाघले भरतपुर महानगरपालिका–२७ मेघौलीस्थित राधा कृष्ण सामुदायिक वनमा निउरो टिप्न गएकी २३ वर्षीया रेखा बस्नेतलाई आक्रमण गरेको थियो। उनी बिहान ७ बजेतिर जङ्गल गएकी थिइन्। साढे ८ बजेतिर बाघले आक्रमण गरेको थियो।
निकुञ्ज सुरक्षार्थ खटिएको सेनाले हवाई फायर गर्दै बाघलाई लखेटेर शव निकालेका थिए।
प्रहरीले शव पोष्टमर्टमका लागि भरतपुर अस्पताल लैजान लाग्दा स्थानीयले विरोध गरेका थिए। उनीहरूले बाघलाई डार्ट गरेर नियन्त्रणमा लिएपछिमात्रै शव लैजान दिन भन्दै विरोध गरेका थिए।
बाघलाई डार्ट गरेर नियन्त्रणमा लिने सहमतिपछि युवतीको शव उठाएर पोष्टमर्टमका लागि भरतपुर अस्पताल लगिएको थियो।
गत जेठको २४ गते चितवनकै घैलाघारी भन्ने ठाउँमा एक जना महिलालाई बाघले आक्रमण गरेको थियो। आक्रमणबाट ती महिलाको मृत्यु भएको थियो।
त्यही बाघले यहाँ आएर आक्रमण गरेको निकुञ्जले जनाएको छ।