काठमाडौं । मंगलबार एकराज बस्नेतको घरमा गएकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले अस्पतालबाट आफू त्यहाँ जानुको रहस्य खोलेकी छन् । वलीले लामो समय आफूले दिएको सापटी पैसा फिर्ता नगरेको भन्दै खोज्न गएको बताएकी हुन् ।
एकराजले चार÷पाँच दिनदेखि मोबाइल स्वीच अफ् गरेकोले घरमै खोज्न गएको उनको प्रष्टोक्ति रहेको छ । आफू एकराजको घरमा गइसकेपछि डिजाइन अनुसार फसाइएको उनको आरोप छ । एकराजका दाजुले आफूलाई फसाएको वलीले बताइन् ।
पिएसओसहित एकराजको घरमा गएकी वलीको अहिले सामाजिक सञ्जालमा चौतर्फी आलोचना भइरहेको छ । यद्यपि लुम्बिनी प्रदेश सरकारले यसबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन । आज असार १ गते प्रदेशको बजेट ल्याउनुपर्ने र वलीलाई कारबाही गर्दा सरकार अल्पमतमा पर्ने भएकोले उनीमाथि एक्सन हुन सकेको छैन ।
एमालेले भने मन्त्रीले गरेको हर्कतबारे सरकार बेखबर हुनुलाई अचम्म भनेको छ । एमाले नेता एवम् लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रीले नै सर्वसाधारणको घरमा घुसेर नाबालिका र महिलामाथि हातपात गरेको विषयमा प्रदेश सरकार किन अनविज्ञ भन्दै प्रश्न गरेका छन् ।
पैसा उठाउन गएको रे !
अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी वलीले आफू सापटी लिएको पैसा असुल गर्न गएको भनी दिएको अभिव्यक्तिको सामाजिक सञ्जालमा टिप्पणी शुरु भएको छ । यदि पैसा लिएकै भएपनि बहालवाला राज्यमन्त्रीले नै घरमा घुस्नुपर्ने अवस्था किन ? प्रहरीलाई भनेको भए उनी भएकै ठाउँमा एकराज पुग्थे भन्ने सर्वसाधारणको तर्क छ ।
आफूले दिएको सापटी बहालवाला मन्त्रीले नै असुल गर्न घरमै जानुपर्ने भएपछि सर्वसाधारणको हालत के होला भन्ने प्रश्न उब्जिएको छ । अहिले वलीको बचाउका लागि अनेक तिकडम भइरहेको एकराजकी श्रीमती मीना बस्नेतको आरोप छ ।
वलीले घरमा पसेर आफ्नो छोरीमाथि हातपात गरेको उनको भनाइ छ । मीनाको शरिरमा लगाएको लुगा पनि च्यातिएको थियो ।