काठमाडौं । लमजुङमा बर्खा नलाग्दै बर्खे धान रोपाईं सुरु भएको छ ।
जिल्लामा मकै बाली भित्र्याएसँगै केही दिन अघिबाट उच्चपहाडी क्षेत्र एक हजार ६०० मिटर उचाइमा धान रोप्न सुरु गरिएको हो ।
चाँडै मकै पाकेका ठाउँ र पानी पर्याप्त भइसकेको ठाउँहरुमा धान रोप्न सुरु भइसकेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मदन रेग्मीले बताउनुभयो ।
मर्स्याङ्दी गाउँपालिका–५ घेर्मुफाँटमा यतिबेला धमाधम धान रोपाईं भइरहेको छ । यहाँ किसानले समूह बनाएर धान रोपाईं गरिरहेका छन् । स्थानीयवासीले घेर्मुफाँटमा जौधान, मार्सी, झिनुवा, एक्ले जातको धान लगाउने गरेका छन् ।
मर्स्याङ्दी गाउँपालिका–८ घाम्राङका बासिन्दा गमप्रसाद गुरुङका अनुसार पानी परिरहेको र अब आउने बिहीबारदेखि यहाँका स्थानीयवासीले रोपाईं सुरु गर्न लागेका छन् ।