काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा सडक भासिएको ठाउँमा फेला परेका एक जनाको शव पहिचान भएको छ । मृतक गोरखाको छोप्राक–३ घर भएर आँबुखैरेनी बस्ने केशव घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताउनुभयो । घिमिरे आँबुखैरेनीबाट मुग्लिङ जाँदै थिए ।
मर्स्याङ्दी नदीमा फेला परेको अर्को एउटा शव सशस्त्र प्रहरीले निकालेको छ । सो शवको पहिचान हुन सकेको छैन ।
घटनास्थलमा सेना, सशस्त्र प्रहरी बल र प्रहरीको टिम परिचालन गरिएको छ । सडक भासिँदा बा १० च ४६७९ नम्बरको कार पुरिएको छ । सो कार सुरक्षाकर्मीहरूले निकाल्ने प्रयास गरिरहेका छन् । सडक भासिँदा मोटरसाइकल पनि खसेको थियो ।
सडक पहिरोले बगाउँदा बिहानदेखि मुग्लिङ आँबुखैरेनी सडकमा दुई तर्फी सवारी आवागमन बन्द भएको छ ।