काठमाडौं । कार्यालय हिँडेका वा कार्यालयबाट घर फर्किएका बैंकका कर्मचारीहरुलाई अब प्रहरीले कुनै अवरोध नगर्ने भएको छ । निषेधाज्ञामा बैंकका कर्मचारीहरुलाई बैंकको परिचय पत्रका आधारमा कार्यालय आउन/जान दिने भनिएको थियो ।
तर आज बिहानै प्रहरीले बैंकका कर्मचारीहरुलाई रोकेपछि बैंकहरु आक्रोशित बनेका थिए । प्रहरीले दुःख दिएको भन्दै नेपाल बैंकर्स संघले बैंकका शाखा कार्यालयहरु नै आज नखोल्न भनेको थियो । अब भने प्रहरीले बैंकको परिचयपत्र देखाएपछि नरोक्ने भएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादवले कार्यालय हिँडेका कर्मचारीलाई नरोक्न आदेश आएको जानकारी दिनुभयो । माथिबाटै अब नरोक्ने सर्कुलर आएकाले अब बैंकका कर्मचारीहरुलाई कुनै अवरोध नगरिने उहाँले बताउनुभयो ।