काठमाडौं । दार्चुलामा आगो लगाएर एक जना एकल महिलाको हत्या भएको छ । शैल्यशिखर नगरपालिका १ बारिलकी ४० वर्षीय अनिभा खडायतको आगो लगाएर हत्या भएको प्रहरीले जनाएको छ ।
घर नजिकैको खरको लुटो (कुन्यू)मा आगो लगाएर महिलाको हत्या भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी प्रतीक विष्टले जानकारी दिनुभयो । घटनाको अनुसन्धानको लागि प्रहरी चौकी बलाँच, इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट टोली परिचालन गरिएको छ ।
डढेको अवस्थामा खडायतको शव मंगलबार राति नै फेला परेको र आफूहरूले प्रहरीलाई खबर गरेको शैल्यशिखर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष भरतबहादुर खडायतले जानकारी दिनुभयो ।
महिलाका श्रीमानको ७–८ वर्ष पहिले निधन भएको थियो । प्रहरीका अनुसार शंकास्पद दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको छ । घटनामा संलग्न रहेको आंशकामा प्रहरीले स्थानीय वीरेन्द्र खडायत र तुला खडायतलाई नियन्त्रणमा लिइएको बताइएको छ ।
महिलाका श्रीमान् सात वर्ष पहिले बितेका थिए । मृतकका दुई छोरी र एक छोरा रहेको बुझिएको छ ।