काठमाडौं । काठमाडौं उपत्यकामा आज बुधबार दिनभर पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अहिले पनि काठमाडौंमा पानी परिरहेको छ।
हाल बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको विभागले जनाएको छ। बुधबार दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ। बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ।
प्रदेश–१, बागमती, गण्डकी र मधेस प्रदेशका थोरै स्थानमा तथा कर्णाली र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।
हाल नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। पूर्वी नेपालमा मात्रै मौसमी वायु सक्रिय रहेको छ।
मध्य तथा पश्चिमी भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।
भोलि बिहीबार पनि प्रदेश १, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ।