काठमाडौं । बाँकेमा १६ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार भएको छ । फेसबुकमा एक वर्षदेखि चिनजान भएका बैजनाथ गाउँपालिका ८ का १७ वर्षीय हेमराज थारुले आफ्नो जन्मदिन मनाउनका लागि भेट्न बोलाएपछि आएकी किशोरीलाई हेमराजलगायत ७ जनाले बलात्कार गरेको बाँके प्रहरी प्रवक्ता मधुसूदन न्यौपानेले बताउनुभयो ।
प्रहरीका अनुसार शनिबार राति र आइतबार छुट्टाछुट्टै स्थानमा किशोरीमाथि बलात्कार भएको उहाँले बताउनुभयो । किशोरीलाई सुरुमा मानखोलाको जंगलमा ५ जना युवाले र पछि बैजनाथस्थित टहरामा लगेर दुई जना युवाले बलात्कार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अचेत अवस्थामा रहेकी किशोरीको अवस्था अहिले ठिक भए पनि उनलाई संस्थाको संरक्षणमा राखिएको छ ।
प्रहरीले अभियुक्तहरू हेमराज थारु, नीराजन थारु, विक्रान्त थारु, प्रवीण थारु, राजकुमार थारु, विश्वनाथ थारु र निर्देश थारुलाई विभिन्न ठाउँबाट पक्राउ गरेको छ । उनीहरूलाई खजुरास्थित धनौली प्रहरी चौकीमा राखिएको छ ।