काठमाडौं । काठमाडौंको टेकुस्थित पेट्रोल पम्पमा इन्धन राख्ने ट्यांकी विस्फोट हुँदा दुई जना घाइते भएका छन्।
आइतबार साँझ ५ बजे काठमाडौं महानगरपालिका–१२ टेकुस्थित कनक पम्पमा ट्यांकीमा विस्फोट हुँदा दुई जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
इन्धन राख्ने ट्यांकीको ढक्कन वेल्डिङ गर्ने क्रममा अकस्मात् भित्रबाट ग्यास विस्फोट भएको उहाँले बताउनुभयो ।
खाली भइसकेको ट्याङ्की ग्यासले भरिएको र ढक्कन वेल्डिङ गर्नेक्रममा पड्किएको प्रहरीले जनाएको छ।
विस्फोट हुँदा पर्सा जगन्नाथपुर गाउँपालिका–३ घर भई काठमाडौंको कालीमाटी बस्ने ३० वर्षीया किशोरी साह र १८ वर्षीय दीपककुमार साह घाइते छन्।
किशोरीको बायाँ खुट्टा जलेर फ्र्याक्चर भएको र दाहिने खुट्टा, अनुहार दुबै हात र छाती जलेको प्रहरी उपरीक्षक मैनालीले बताए। उनी हल्का बोल्न सक्ने अवस्थामा रहेको उहाँले बताउनुभयो ।
त्यस्तै शाहको बायाँ गालामा पोलेको छ। उनी बोल्न सक्ने अवस्थामा छन्।
उनीहरू दुवैको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।