काठमाडौं । अछाममा १७ वर्षीय एक किशोर मृत्यु प्रकरणको अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली परिचालन गरिएको छ । घटनाबारे विभिन्न आशंका र विवाद बढ्दै गएपछि सीआईबीको टोली परिचालन गरिएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी भोलाबहादुर रावलका अनुसार डिएसपी मनोहर भट्टको नेतृत्वमा सीआईबी टोली अनुसन्धानमा खटिएको छ । घटनास्थलमा तालिमप्राप्त कुकरसहितको टोली पनि खटाइएको छ ।
१० कक्षामा अध्ययनरत पञ्चदेवल विनायक नगरपालिका–४ का १७ वर्षीय विनोदबहादुर शाही शनिबार(हिजो) बिहान मृत अवस्थामा फेला परेका थिए ।
पञ्चदेवल विनायक–४, कालिकास्थानस्थित मध्य पहाडी लोक मार्गबाट एक किलोमिटर टाढा जंगलमा उनको शव फेला परेको थियो । आफन्त र स्थानीयले उनको हत्या भएको दाबी गरेका छन् । विरोधमा स्थानीयको प्रदर्शन समेत जारी छ ।
प्रहरीका अनुसार स्थानीय तह निर्वाचनका बेला कालिकास्थनमा नेकपा (एमाले) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको थियो । मृत भेटिएका किशोर एमाले समर्थक रहेको बताइएको छ । उनका आफन्तले घटनामा कांग्रेस नेता–कार्यकर्ताको संलग्नता रहेको आरोप लगाएका छन् ।
हिजो स्थानीयको प्रदर्शन उग्र बन्दै गएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र हवाई फायर समेत गरेको थियो ।