काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय समिति र शाखाहरुको कार्यकाल ६ महिना थप गरिएको छ ।
आज प्रविधिको माध्यमबाट भएको राष्ट्रिय भेलाले केन्द्रीय कार्यसमिति, प्रदेश, जिल्ला, प्रतिष्ठान र एसोसिएट शाखाहरुको कार्यकाल ६ महिना थप गर्ने निर्णय गरेको हो ।
महासंघको हालको केन्द्रीय कार्यसमितिको ३ वर्षे कार्यकाल यही भदौ ५ गते समाप्त हुँदैछ ।
तर, कोरोना भाइरस महामारीको जोखिममा तत्काल महाधिवेशन सम्पन्न गर्न असम्भव देखिएकाले महासंघको विधानअनुसार कार्यकाल ६ महिना थप गरिएको महासचिव रमेश विष्टले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
महासंघले आगामि फागुन ३ गते केन्द्र, प्रदेश र शाखाको निर्वाचन गर्ने निर्णयसमेत गरेको छ । त्यसअघि, आगामि मंसिरभित्र जिल्ला, प्रतिष्ठान र एसोसिएट शाखाको, पुसभित्रमा प्रदेश समितिहरुको र माघ ४ र ५ गते केन्द्रीय साधारणसभा सम्पन्न गर्ने निर्णय गरेको छ ।
कोरोना महाव्याधीका कारण यो कार्यतालिका कार्यान्वयनमा जटिलता भएमा सम्पूर्ण कार्यतालिका पुनरावलोकन गर्ने अधिकार केन्द्रीय समितिलाई प्रदान गर्ने निर्णय पनि बुधबारको भेलाले गरेको छ ।
महासंघले कोरोना महाव्याधीका कारण सञ्चार क्षेत्र र महासंघका सदस्यहरुले आर्थिक अभाव झेल्नुपरेको भन्दै ०७७ सालको सदस्यता शुल्क छुट दिएको छ ।
महासंघले कोरोना महाव्याधीका कारण आर्थिक अभाव झेलिरहेका सञ्चारमाध्यम र श्रमजीवि पत्रकारका लागि उचित राहतका लागि संघीय, प्रदेश र स्थानीय सरकारहरुसँग माग गरेको छ ।
सञ्चारमाध्यमहरुले श्रमजीवि पत्रकारलाई निष्कासन गर्ने, दबावपूर्ण विदामा राख्ने, तलव–भत्ता कटौती गर्ने, अनुचित सरुवा गर्ने र नियमित पारिश्रमिक नदिने सिलसिला कायम रहेको भन्दै महासंघको बुधबारको भेलाले आगामि पुसमा केन्द्र, प्रदेश र शाखाहरुमार्फत सशक्त दबावमूलक अभियान सञ्चालन गर्ने र कानुनी संघर्षलाई निरन्तरता दिने निर्णय गरेको छ ।