Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

अछाम बाढी अपडेट : बेपत्ता भएका १२ जनाको शव भेटियो

अछाम बाढी अपडेट : बेपत्ता भएका १२ जनाको शव भेटियो

  • बुधवार, भाद्र ३ २०७७

  • 1.4K
    SHARES

  • अछाम बाढी अपडेट : बेपत्ता भएका १२ जनाको शव भेटियो

    अछामको कैलाश खोलामा गएराति करिब १ बजे आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ मध्ये १२ जनाको शव भेटिएको छ ।

    रामारोशन गाउँपालिका–५ सैनीबजारबाट बगाएका स्थानीयवासीको शव कम्तीमा दुई घण्टा लाग्ने ठाउँमा भेटिन थालेको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

    बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नामा ६ तथा मङ्गलसेन नगरपालिका–३ मा पर्ने लमतणा र सेरीमा ६ जना गरी जम्मा १२ जनाको शव भेटिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।

    उहाँका अनुसार भेटिएका शवमा लुगा नभएका र पहिचान हुने कुनै चिज नभएका कारण अहिलेसम्म पहिचान हुन सकेको छैन ।

    गएराति ठूलोपछि उक्त खोलामा बाढी आएका कारण आ–आफ्नो पसलमा सुतेका स्थानीयवासीलाई बगाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

    बाढीले बगाएर बेपत्ता भएकाको खोजीका लागि बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जनप्रतिनिधि तथा स्थानीयवासीको टोली खटिएको रामारोशन गाउँपालिकाका अध्यक्ष झङ्करबहादुर साउदले बताउनुभयो ।

    यसैबीच, आजनै बझाङको बुंगल नगरपालिका–५ मिडीमा पहिरोले पुरिएर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १२ वर्षीय सचिन ताम्राकार र ५ वर्षीय सुदीप ओखेडा रहेको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले जानकारी दिनुभयो ।

    त्यसैगरी, बाजुरामा पनि बाढी–पहिरोमा परेर २ जनाको मृत्यु भएको छ ।

    खप्तड छेडेदह गाउँपालिका– १ मा मीनबहादुर बुढाको घर पहिरोले पुरिँदा ३ वर्षकी छोरी सुमिका बुढाको मृत्यु भएको छ । उनकै ५ वर्षकी छोरी विनीता, आमा ६५ वर्षकी नन्दादेवी घाइते भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

    बाजुरामै बडिगाढ र धुपे खोलामा आएको बाढीमा बगेर ७५ वर्षीय धिनु लुहारको मृत्यु भएको प्रहरी नायव उपरीक्षक टंकराज भट्टराईले जानकारी दिनुभयो ।

    बाजुराका भूपे र बड्डीगाढ खोलामा आएको बाढीले २० घर डुबानमा परेको जनाएको छ । क्षतिको यकिन भने विवरण आइसकेको छैन ।
    साथै, बैतडीमा घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा ४ जना घाइते भएका छन् ।

    जिल्लाको सुर्नया गाउँपालिका –५ मडका वीरबहादुर मडैको घरमाथि पहिरो खस्दा एकै परिवारका चारजना घाइते भएका हुन् ।

    पहिरोमा परेर वीरबहादुर मडै, उनकी श्रीमती सुन्दरी, छोरीहरू सरस्वती र पार्वती घाइते भएका रौलेश्वर प्रहरी चौकीले जनाएको छ ।

    यसैबीच, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम इन्चार्ज भीम रावलले अछाममा बाढीका कारण ठूलो जनधनको क्षति भएकाले राहत र भौतिक संरचनासहित पुनर्निर्माणमा केन्द्रित हुन सरकारसँग आग्रह गर्नुभएको छ ।

    आज एक विज्ञप्ति जारी गर्दै रावलले बाढीले ठूलो जनधनको क्षति पु¥याएकाले त्यस घटनाले आफू मर्माहित भएको बताउनुभएको छ ।


    बुधवार, भाद्र ३ २०७७०६:२७:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij