काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका, २ कोवाङको सिरानमा दुर्घटनाग्रस्त तारा एयरमा सवार सबै यात्रुको शव फेला परेको छ ।
फेला परेका शवमध्ये १० वटा शवलाई तल बेनी–जोमसोम सडक खण्डमा पर्ने कोवाङमा झारिएको छ । खराब मौसम र अप्ठ्यारो भूगोलमा उद्धारकर्ताले शव बोकेर झार्नुपर्ने भएकोले समस्या देखिएको छ ।
शवहरू भीरमा छरिएकाले संकलन गर्न समस्या भएको उद्धारमा खटिएका स्थानीय इन्द्रसिंह शेरचनले बताउनुभयो । फेला परेका शवको पहिचान भने भइसकेको छैन ।
कोवाङ झारिएका शवको प्रहरीले पोस्टमार्टम तथा मुचुल्का बनाउन थालेको छ । दुर्घटनामा चालक दलका ३ सदस्यसहित २२ जना यात्रुको मृत्यु भएको हो ।
उद्धारमा संलग्न एक सैनिकका अनुसार फेला परेका शवमध्ये १० वटा तल बस्तीमा झारिएको छ । बाँकी ल्याउने क्रम जारी छ । तल ल्याइएका शवको मुचुल्का तयार पारी शव काठमाडौं ल्याउने तयारी भइरहेको छ ।