काठमाडौं । आइतबारदेखि सम्पर्कविहीन भएको तारा एयरको विमान थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । यार्सागुम्बा संकलन गर्न गएका स्थानीय किसानमार्फत दुर्घटनाग्रस्त जहाजको तस्वीर प्राप्त भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभएको छ।
आइतबार नेपाली सेनालाई मानापाथी हिमालको फेदीमा पहिरो गइरहेको स्थानमा आगो लागिरहेको देखेको भन्दै स्थानीयले खबर गरेका थिए । तर खोजी तथा उद्धारमा खटिएको टोली त्यहाँसम्म पुग्न सकेको थिएन ।
सोमबार बिहान त्यही क्षेत्रमा दुर्घटनाग्रस्त जहाज किसानहरुले फेला पारेको शर्माले बताउनुभयो । उहाँका अनुसार मानापाथी हिमालको फेदीमा २८ कात्तिकमा हिमपहिरो गएकै स्थान नजिकै दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटिएको हो । दुर्घटना स्थलतर्फ हवाई उद्धार टोली पठाइसकेको पनि प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभएको छ ।
आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको थियो । पोखराबाट उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको ट्वीनअटर जहाज बेलुकीसम्म पनि नभेटिएपछि खोजी कार्य स्थगित गरिएको थियो । सोमबार बिहानैबाट पुनः खोजी थालिएको थियो ।
जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु सवार थिए । जहाजमा चालक दलका ३ सदस्य पनि थिए । जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए । को पाइलट उत्सव पोख्रेल र जहाज परिचारिका किस्मी थापा थिइन् । उनीहरुको अवस्थाबारे हालसम्म कुनै जानकारी प्राप्त भएको छैन् ।