काठमाडौं । आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालले विमान भेटिएको र थप विवरण आउन बाँकी भएको जानकारी दिनुभएको छ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले पनि धौलागिरी हिमश्रृङ्खलाको तल्लो भागमा विमान भेटिएको सूचना पाएर आफूहरु त्यँहा जाँदै गरेको बताउनुभएको छ । यसबारे थप विवरण आउन बाँकी रहेको छ।
‘स्थानीय शेर्पाहरुले दुर्घटनाग्रस्त अवस्थामा जहाज फेला पारेको सेनाका प्रवक्ता सिलवालले जानकारी दिनुभएको छ । प्रतिकूल मौसम र कठिन भूगोलका कारण ठूलो हेलिकोप्टर पुग्न नसक्ने भएकाले सानो हेलिकोप्टर दुर्घटनास्थलमा पठाउने तयारी भइरहेको उनले बताए ।
हिजो बिहान पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको नाइन एन एईटी कल साइन भएको ट्वीनअटर जहाज सम्पर्कविहीन भएको थियो । सो जहाजमा चालक दलका ३ सदस्यसहित २२ जना सवार थिए ।