काठमाडौं । मिस ग्लोबल इन्टरनेशनल नामक सौन्दर्य प्रतियोगिताका प्रतिस्पर्धीलाई आयोजक संस्थाका सञ्चालकले बलात्कार गरेको प्रकरणमा प्रहरीले पूर्वमिस नेपाल माल्भिका सुब्बासँग बयान लिएको छ । सुब्बा प्रतियोगिताकी कोरियोग्राफर समेत हुन् ।
घटनाको साक्षीकारुपमा काठमाडौं प्रहरी परिसर, टेकुको मुद्दाका शाखाले सुब्बासँग मंगलबार बयान लिएको हो । प्रकरणका मुख्य आरोपी मनोज पाण्डेलाई प्रहरीले शनिबार स्वयम्भूबाट पक्राउ गरेको थियो ।
काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीका अनुसार अनुसन्धानका सिलसिलामा घटनासँग जोडिएका विभिन्न व्यक्तिहरूसँग बयान लिने क्रम जारी छ ।
बयानमा सुब्बाले पीडित किशोरीले त्यसवेला ‘ह्यारेसमेन्ट’ गरेको बताएको खुलाएकी छन् । तर आफूले त्यतिवेला टेलिफोन कुराकानीमा विस्तृत बुझ्न नपाएको र पछि पीडितसँग कुराकानी नभएको उनले भनेकी छन् ।
सुब्बाको बयानले घटनालाई पुस्ट्याइँका लागि मद्दत पुग्ने प्रहरीले जनाएको छ । घटनामा पीडितले उल्लेख गरेका अन्य केही व्यक्तिहरूलाई पनि साक्षीका रूपमा बयानका लागि बोलाउने प्रहरी तयारी छ ।
प्रतियोगिताकी उपाधि विजेता र तेस्रो हुने प्रतिस्पर्धीलाई पनि बयानका लागि प्रहरीले बोलाउँदैछ । गत बुधबार पीडित युवतीले सामाजिक सञ्जाल टिकटकमार्फत २० वटा भिडियो सार्वजनिक गरेर बलात्कारबारे खुलासा गरेकी थिइन् ।
पीडितको भिडियो बयान सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले पनि घटनाबारे चासो देखाएको थियो । गृह मन्त्रालयले एसएसपी वसन्तबहादुर कुँवरको नेतृत्वमा छानबिन समिति बनाएको थियो । तर जबरजस्ती करणी सम्बन्धी कसूरमा भएको हदम्यादका कारण कानूनी प्रक्रियामा जान जटिलता भएको प्रहरीले बताएको छ ।