स्पेनिस फुटबल क्लब बार्सिलोनाका प्रशिक्षक क्विके सेटियन बर्खास्तीमा परेका छन् । क्लबका अध्यक्ष जोसेफ मारिया बर्नटोमेउले स्पेनिस रेडियोमार्फत सेटिएन बर्खास्तीमा परेको जानकारी दिएको स्पेनिस पत्रिका मार्काले जनाएको छ ।
बर्नटोमेउले क्लबका केही पदाधिकारीहरुसँगको भेटपछि सेटियनलाई बर्खास्त गर्ने निर्णय गरेका हुन् ।
युएफा च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बायर्न म्युनिखसँग ८–२ गोलअन्तरको लज्जास्पद हार व्यहोरेपछि बार्सिलोनाले प्रशिक्षक ६१ वर्षीय सेटिएनलाई हटाउने निर्णय गरेको हो ।
यो बार्सिलोनाको च्याम्पियन्स लिग इतिहासकै खराब कीर्तिमानी पराजय हो ।
यो सिजन बार्सिलोनाले घरेलु तथा अन्तर्राष्ट्रिय कुनै पनि उपाधि जित्न सकेन । बार्सिलोनाको सम्भावित प्रशिक्षकको सूचीमा नेदरल्याण्ड्स राष्ट्रिय टिमका रोनाल्ड कोम्यान अग्रस्थानमा रहेको युरोपियन फुटबल पण्डितहरुले बताइरहेका छन् ।
यद्यपि, अन्य नामहरु पनि बाहिर आएका छन् । जसमा टोटनहमका पूर्वप्रशिक्षक माउरिसियो पोचिटिनोको नाम पनि आएको छ ।