काठमाडौं । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–५ मा एक किशोरी अचेत अवस्थामा फेला परेकी छन् । आइतबार(आज) बिहान करिब ६ बजे बाटोभन्दा मुन्तिर करिब १९ वर्षीया किशोरी अचेत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शुकदेव खनालले जानकारी दिए ।
उनका अनुसार घरभन्दा डेढ किलोमिटर टाढा सडकमा फेला परेकी हुन् । ‘गाउँको बाटोमै फेला परेको हो । दायाँबायाँ जंगल जस्तै छ,’ उनले भने, ‘अर्धचेत अवस्थामा फेला परेको हो।’
उनलाई बिहान ६ बजे उद्धार गरी जिल्लास्थित मिसन अस्पतालमा लगिएको छ । उनको टाउकोमा पनि चोट लागेको प्रहरी नायब उपरीक्षक खनालले बताए । अहिले उनको थप उपचारको लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ ।
प्रहरी नायब उपरीक्षक खनालका अनुसार किशोरी गएराति परिवारसँगै सुत्न गएकी थिइन्। बिहान करिब ४ बजेतिर भने उनी घरमा थिइनन् ।
घरमा नदेखेपछि घर परिवार तथा छिमेकहरू मिलेर उनको खोजी गर्न थालेको थियो । प्रहरीलाई पनि खबर गरिएको थियो ।
खनालकाअनुसार खोजतलास गर्नेक्रममा करिब ५ बजे किशोरीलाई सडकमा अर्धचेत अवस्थामा फेला पारेको हो । उनी आफ्नो घर भन्दा डेढ किलोमिटर टाढा फेला परेकी हुन् । अस्पताल पुर्याउँदा ६ बजेको थियो ।
उनी अहिले सामान्य रूपमा बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । घटनाबारे सामान्यरूपमा भन्न सक्ने भए पनि टाउकोमा चोट लागेको हुँदा अहिले नै सोधपुछ नगरिएको खनालले बताए ।
अहिले उनलाई काठमाडौं ल्याउन प्रहरीले अल्टिच्युड हेलिकप्टरसँग कुराकानी गरिरहेको छ । यस घटनामा किशोरीमाथि बलात्कार भएको आशंकासमेत गरिएको छ । तर मेडिकल रिपोर्टबिना यसबारे बोल्न नमिल्ने खनाल बताए ।
प्रहरीले घटनामा संलग्नहरूको पहिचान पनि गरिसकेको उनले बताए । प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।