काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदीमा गएको पहिरोमा हराइरहेकाहरु मध्ये थप ३ जनाको शव फेला परेको छ । गत शुक्रबार लिदीमा पहिरोमा परि ३९ जना बेपत्ता भएकोमा अहिलेसम्म २२ जनाको शव भेट्टिएको हो ।
हराइरहेकाहरुमध्ये १७ जना अझै बेपत्ता रहेको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आज थप तीन जनाको शव निकालिएको छ । उनीहरुको नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो । पहिरो गएको दिन शुक्रबार ११ जना, शनिबार थप सात र आइतबार एक आज थप तीन जनाको शव निकालिएको हो ।
जुगल गाउँपालिकाले पहिरोमा परि बेपत्ता तथा मृत्यु भएका घरपरिवारलाई किरिया खर्च र तत्कालको राहतका लागि जनही एक लाख २५ हजारको दरले दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताउनुभएको छ ।