काठमाडौं - स्याङ्जामा जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ, १२ जना घाइते भएका छन् । वालिङ नगरपालिका–४ सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको जिप पञ्चमूल अर्खलबासस्थित भित्री सडक खण्डमा सडकबाट ५०० मिटर तल खसेर दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी राजुप्रशाद पौडेलले नेपाली नेटवर्कलाई जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार दुर्घटनामा मृत्यु हुनेहरु वालिङ नगरपालिका १४ पञ्चमुल अर्खलबासका रहेका छन् । स्थानीय ६३ वर्षकी माया पुन, ९ वर्षका प्रविण कुँवर, ५० वर्षका कुलदीप कुँवर, ५० वर्षकी डेम कुमारी कुँवर, ८६ की हरिकला कुँवर, ५० वर्षकी टेककला कुँवर, २५ वर्षकी जमुना कुँवर, ७० वर्षकी भीमकला कुँवरको दुर्घटनामा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।
उहाँले बताए अनुसार मृत्यु हुने अन्यमा ७० वर्षकी मुवाकुमारी कुँवर, ४३ वर्षकी पोटकुमारी कुँवर, ४३ वर्षकी जानुका कुँवर, ४२ वर्षकी ज्ञान दली कुँवर, ५० वर्षकी मीना कुँवर र फूलदेवी कुँवर रहेका छन् ।
त्यस्तै चालक भुलबहादुर कुँवर पनि गम्भीर घाइते भएका छन् । स्थानीय बेलमाया कुँवर, गौतमी थापा, ज्ञानमाया कुँवर, सरस्वती कुँवर, कविता कुँवर, अनिष कुँवर, कुशल कुँवर, ज्यामकली कुँवर, कौशल कुँवर, सीता कुँवर पनि गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेज पठाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी बताउनुभयो ।
५५ वर्षका नेत्रबहादुर कुँवरको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । उहाँको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।