Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

स्थानीय तह निर्वाचन : काठमाडौं छोड्नेको भीड, गाडी पाउनै मुस्किल

स्थानीय तह निर्वाचन : काठमाडौं छोड्नेको भीड, गाडी पाउनै मुस्किल

यात्रुको संख्या बढेपनि गाडीहरु भने नर्मल अवस्थामै चलिरहेको यातायात महासंघको दाबी
  • बुधवार, बैशाख २८ २०७९

  • 764
    SHARES

  • स्थानीय तह निर्वाचन : काठमाडौं छोड्नेको भीड, गाडी पाउनै मुस्किल

    काठमाडौँ । स्थानीय तहको निर्वाचनका लागी मतदान गर्ने दिन नजिकिएसँगै काठमाडौँ उपत्यका छोड्नेको संख्या बढ्दै गएको छ । काठमाडौँका मुख्य नाका कलंकी–नागढुंगा र कोटेश्वर – जडिबुटी सडकखण्डामा आज पनि उपत्यका छोड्नेको भीड उस्तै छ ।

    गाउँ घर जाने तयारीमा रहेकाहरु बिहानै गाडी चढ्ने ठाउँमा पुगेका छन् । तर, उनीहरुलाई गाडी पाउन मुस्किल छ । गाडीको खोजीमा रहेका यात्रुको भिड सडकको छेउसम्मै छ ।

    गाडी र यात्रुको चापका कारण कोटेश्वर जडिबुटी सडकखण्डमा आवागमन नै प्रभावित भएको छ । केही आफ्नै निजी गाडीमा जाँदै छन् भने केही गाडी रिजर्भ लिएर जाँदै छन् । यस्तै, केही मतदातालाई सम्बन्धित दल र उम्मेदवारले गाडी पठाएका छन् । धेरैजसो गाडी रिजर्भमा जान थालेकाले यात्रुलाई गाडी पाउन समस्या छ । भोलि झन् समस्या हुन सक्ने भन्दै धेरै जना आजै गाउँ घर जाँदै छन् । यसले भिड थप बढाएको छ ।

    टाढा जाने बस त भरिभराउ छँदैछन्, नजिकैको धादिङ, गोरखासम्म जाने सवारीमा समेत यात्रु अटेसमटेस छन् । कुरेर बसेकाहरुलाई गाडी पाउनै धौ धौ छ ।

    तर, यातायात व्यवसायी महासंघका अध्यक्ष विजय स्वाँरले काठमाडौंबाट बाहिरिने यात्रुहरुको संख्या बढेको भएपनि गाडीहरु भने नर्मल अवस्थामै परिचालन भइरहेका बताउनुभएको छ । रिजर्भ जान खोज्नेका लागि व्यवस्थापन गरिएको स्वाँरको भनाइ छ । भोलिसम्म मात्रै यातायातका साधन चल्ने भएकोले केही मात्रामा चाप देखिएको स्वाँरले बताउनुभयो ।

    जुन स्थानीय तहमा आफ्नो मतदाता नामावली छ त्यहीँबाट मात्रै भोट हाल्न पाइने भएकाले अरु बेला काठमाडौंमा बस्नेहरु भोट हाल्न गाउँ फर्किन लागेका हुन् ।

    महानगरीय ट्राफिक प्रहरीे महाशाखाका अनुसार तीन दिनमा एक लाख ५६ हजार बढी सर्वसाधारणले उपत्यका छाडिसकेका छन् । आज र भोली यो संख्या अझै बढ्न सक्ने महाशाखाको अनुमान छ ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार २५ गते ५५ हजार ७ सय ४०, २६ गते ५० हजार ९ सय ३० र २७ गते बिहान ७ बजेसम्म ५९ हजार ८१ जना सर्वसाधारणले उपत्यका छाडिसकेका छन् ।


    बुधवार, बैशाख २८ २०७९०३:०१:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij