Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

१८ वर्षको लामो स्थायी शिक्षक जागिर छाडेर गाँउपालिका अध्यक्षको उम्मेदवार

१८ वर्षको लामो स्थायी शिक्षक जागिर छाडेर गाँउपालिका अध्यक्षको उम्मेदवार

  • शनिवार, बैशाख १७ २०७९

  • 527
    SHARES

  • १८ वर्षको लामो स्थायी शिक्षक जागिर छाडेर गाँउपालिका अध्यक्षको उम्मेदवार

    लमजुङ । पेन्सन पाक्नका लागि दुई वर्ष भन्दा कम समय रहेको अवस्थामा स्थायी शिक्षकको जागिरबाट राजिनामा दिएर लमजुङमा एक जना गाउँपालिका अध्यक्षको उमेदवार बनेका छन्।

    ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि लमजुङ मर्स्याङ्दी गाँउपालिका - ६ बाहुनडाँडाका ५२ वर्षीया लोकनाथ घिमिरेले घरपाइक र पाक्नै लागेको पेन्सन छोडेर चुनावमा होमिएका हुन्।

    मर्स्याङ्दी – ३ स्थित जनचेतना प्राथमिक विद्यालय अर्खलेका प्रधानाध्यापक समेत रहेका घिमिरेले १३ वर्ष अस्थायी र १८ वर्ष स्थायी गरि कुल ३१ वर्ष शिक्षण पेशामा विताएका हुन्।

    "मेरालागि कठिन निर्णय थियो,१३ वर्षको अस्थायी र १८ वर्षको स्थायी शिक्षक सेवाबाट बिदा लिएको छु।"  सरकारी जागिर त्यागेको घोषणा गर्दै घिमिरेले भनेका छन्,"बाँकी जीवन पूर्णकालिन समाज सेवामा।"

    उत्तरी लमजुङमा समाजसेवा समेत सक्रिय घिमिरे नेपाली कांग्रेसको तर्फबाट मर्स्याङदी गाउँपालिका अध्यक्षको उमेदवार बनेका हुन्।

    "असल जनप्रतिनिधि नहुदाँ उत्तरी लमजुङ निकै पछाडि पर्यो, जुन गतिमा पछिल्लो पाँच वर्षमा मर्स्याङदी गाउँपालिकाले विकासको फड्को मार्नु पर्ने हो त्यो हुन सकेन, अव अर्को पाँच वर्ष पनि त्यसै खेर जानेभयो भन्ने भयो।" राजिनामा दिनुको कारण खुलाउदै घिमिरेले भने,"मलाई मेरो पेन्सन भन्दा पनि आफ्नै गाउँघरका दाजुभाइ, दिदीबहिनीहरुको जीवन स्तरको चिन्ता भयो, आफ्नै अगाडि स्थिति झनझन विग्रिएको कसरी हेर्ने भन्ने भयो र कठिन निर्णय गरे।"

    घिमिरे सत्ता गठबन्धनको साझा उमेदवार हुन्। उपाध्यक्षमा गठबन्धनले नेकपा माओवादीका अमर तामाङ्लाई उमेदवार बनाएको छ।

    मर्स्याङदी गाउँपालिका प्रचुर सम्भावना भएर पनि खराव नेतृत्वको कारण स्थानीयको जीवनस्तर माथि उकाशिन नसकेको घिमिरेको भनाई छ।,"हामी सँग जुन स्रोत छ त्यो जनताका लागि प्रयोग नै हुन सकेन। जलविद्धुतमा हामी धनी छौ तर त्यसबाट स्थानीयले जुनरुपमा लाभ लिन पर्ने हो त्यो पाउनै सकेनन्।"

    कृषि,पर्यटन,जलविद्युत र जडिबुटीको क्षेत्रमा गाउँपालिकामा विषेश सम्भावना रहेको घिमिरेको भनाई छ। "नेतृत्व इमान्दार नहुदाँ दैलोमा रहेको हिरा हामीले चिन्न सकेका छैनौ, शिक्षकको जागिरे भएर त्यो टुलुटुलु हेर्नु हुदैन भन्दै म प्रत्यक्ष राजनीतिमा आएको हुँ।"     

    नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सदस्य समेत रहेका घिमिरे उत्तरी लमजुङका विकास प्रेमी नेताको रुपमा चिनिन्छन् । जिल्ला देखि केन्द्रिय नेतासँग प्रत्यक्ष सम्पर्कमा रहेका घिमिरेले गाउँपालिकामा गुणस्तरिय शिक्षा, नि:शुल्क विद्युत, सुत्केरीका लागि निशुल्क एम्बुलेन्स सेवा, निशुल्क वाइफाइ, कृषिमा अनुदान लगायतका प्रतिवद्दता जाहेर गरेका छन्।

    चन्द्रोदय माध्यमिक विद्यालयलाई उच्च माध्यमिक बनाउने अभियानमा सक्रिय भूमिका खेलेका  घिमिरे सोही विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष समेत भइसकेका छन् । उनकै कार्यकालमा चन्द्रोदय माध्यमिक विद्यालयले आधुनिक भवन पाएको थियो । जुन भवन उत्तरी लमजुङकै स्कूलमा पहिलो ठूलो परियोजना थियो।

    "माइक्रोसफ्ट देखि बाहुनडाँडा सम्म" पुस्तकका लेखक जोन उडले स्थापना गरेको रुम टु रिड नामक संस्थाको सहयोगमा सो भवन बनेको थियो। घिमिरेकै पहलमा ङ्यादी देखि बाहुनडाँडा, लिलिभिर हुँदै घेर्मु-स्यागे मोटर सडकको काम अगाडि बढेको थियो। घिमिरेले गाँउपालिकका सबै वडालाई मोटरबाटोले जोड्ने गरि रिङ्गरोड बनाउने पनि प्रतिवद्दता जाहेर गरेका छन्।   

    "गलत नेतृत्व चयन गर्दा मर्स्याङदी गाउँपालिकाले एउटा सुन्दर समय गुमाएको छ। यहाँका जनमानस नयाँ नेतृत्वका चयनका लागि आतुर छन्।" घिमिरे भन्छन् ।

    मर्स्याङदी गाउँपालिकामा नेकपा एमालेले अर्जुन गुरुङलाई नै दोहोर्याको छ। २०७४ सालको स्थानीय निर्वाचनमा एमाले र माओवादीको गठबन्दन भएको थियो। जुन समय अर्जुन गुरुङ प्रतिद्वन्दी नेपाली कांग्रेसका नरबहादुर गुरुङ विरुद् झिनो मत अन्तरले विजयी भएका थिए। यस पटक माओवादी र कांग्रेसले गठबन्दन गरेका छन्।

    "यसै पनि गत चुनावमा भन्दा यस पटक हाम्रो माहोल राम्रो छ,गठबन्धनमा कुनै समस्या छैन्, सबै जना उत्साहित छन्, धेरै नै मतदाता आकार्षित भएका छन्,पाँच वर्ष सम्म सिन्को नभाचेको मान्छेलाई फेरि किन जिताउने भन्ने जनतालाई परेको छ।" घिमिरे भन्छन, "जनताले परिवर्तन चाहेका छन् हामी गठबन्दनका सबै उमेदवार तीन हजार भन्दा बढी मत अन्तरले सहजरुपमा विजयी हुन्छौं।"

    हुन पनि भ्रष्ट्राचार र वेरुजुमा अर्जुन गुरुङ पटक पटक विवादमा पर्दै आएका छन्। अर्को तर्फ उनलाई जलविद्युत क्षेत्रबाट पाउनु पर्ने सुविधा जनता सम्म पुर्याउन नसकेको आरोप छ। यस्तै आयोजनाका लागि जग्गा अतिकरणमा पनि उनीमाथि चलखेल गरेर स्थानीयमा कम मूल्य दिलाएको आरोप छ।


    शनिवार, बैशाख १७ २०७९१०:२०:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij