काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सको शौचालय प्रयोग गरेर सुन तस्करी हुने गरेको खुलेको छ । विमानस्थल सुरक्षा कार्यालयले सफाइ कर्मचारीले हिमालय एयरलाइन्सको शौचालयबाट निकालेर ल्याउँदै गरेको सुन बरामद गरेको छ ।
सफाइ कर्मचारीको साथबाट २ किलो ३३२ ग्राम सुन बरामद गरिएको विमानस्थलका एसएसपी भीम प्रसाद ढकालले जानकारी दिनुभयो । प्रहरीका अनुसार सुन तस्करीमा संलग्न ५ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा उदयपुर घर भएका २८ वर्षीय राजेश राई, दोलखा गौरीशङ्कर घर भएका ४१ वर्षीय ट्याक्सी चालक हेम बहादुर थापा र सुनगाभा सप्लायर्स एण्ड सरसफाइ प्रालिका सुपरभाइजर सप्तरी घर भएका ताराकान्त चौधरी छन् ।
माबो र तामाङ पनि सफाइ कर्मचारी हुन् । पाँचथर घर भएका मीनकुमार माबो, नुवाकोट घर भएका सुमन तामाङले सुन विमानको शौचालयबाट बाहिर ल्याएका थिए । सो सुन दुबईबाट तस्करले हिमालय एयरलाइन्सको शौचालयमा राखेर पठाइदिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।