स्याङ्जा । केही वर्ष अघिसम्म आफ्नो व्यवसायमा रमाईरहेका सफल युवा व्यवसायी थिए - याम प्रसाद अधिकारी अर्थात् लक्ष्मण।
स्थानीयले उनलाई विनम्र स्वाभावको मिलनसार युवा उद्यमीका रूपमा चिनेका थिए। पारिवारिक पृष्ठभुमि काँग्रेस भएका याम प्रसाद अधिकारीको राजनीतिमा त्यति धेरै सक्रीयता थिएन। हुनपनि, २० वर्ष देखि स्थानीय निर्वाचन भएको थिएन । त्यसकारण पनि उनी वयस्क रूपमा हुर्कँदा एउटा पनि स्थानीय चुनावमा उनले भोट समेत हालेका थिएनन्। तर युवा व्यवसायीका रूपमा वालिङलाई आफ्नो कर्मथलो बनाएका अधिकारी आफ्नो गाउँमा सामाजिक काममा भने अगुवाको रूपमै सक्रीय थिए र जनआन्दोलनमा आफ्नो क्षेत्रमा युवाहरुको नेतृत्व लिन भने उनी पछि परेनन्।
उनको सहज र मिलनसार व्यक्तित्व तथा समाधान दिने स्वभावले गर्दा स्थानीय निर्वाचनमा वडाध्यक्षको पदमा उम्मेदवारी दिनको लागि चर्को दबाब आयो। आफ्नो भर्खर भर्खरै स्थापित गरेर सफल बनाएको व्यवसायको माया मारेरै उनी राजनीतिमा होमिए। आफ्नो गाउँमा कृषिका लागि सामुहिक प्रयत्न, पर्यटकीय क्षेत्र स्वरेक मैदानको मास्टर प्लान अनुसार विकास र आफ्नो वडाका सबै दुर्गम क्षेत्रलाई ग्रामीण सडकद्वारा जोडेर गाउँले जनताको जीवन सहज बनाउन काम गरेका थिए। त्यसैबीचमा कोभिडको प्रकोप आईलाग्यो।
'शुरु देखि नै समाजसेवामा रुचि भएको मेरो मनमा नयाँ जिम्मेवारी बोध भयो। कोरोनाको महामारीले गर्दा धेरै जनताको बिचल्ली देखें। मन थाम्नै सकिन, आफ्नै गाडीमा अक्सीजन सिलिन्डर राखेर गाउँ गाउँमा एकल एम्बुलेन्स सेवा जस्तै बनाएर हिडें।'
अधिकारी भावुक हुँदै ती दिन सम्झन्छन्। पीपीई लगाएर, एक्लै, आफ्नै गाडीमा आठ सय भन्दा बढी गाउँले बिरामीलाई उनले अस्पताल पुर्याएका छन्। कोरोनाबाट मृत्यु भएका केहीको अन्तिम संस्कार समेत प्रोटोकल पुर्याएर आँफैले गरेका छन्। 'परिवारका कोही विदेशमा अड्केर बसेका छन्, कोही आँफै सिकिस्त छन्।
यता कोरोनाले गर्दा मृत्यु भएको छ। के गर्ने? केही साथीहरु जुट्यौं र हामी मिलेर नै दाह संस्कार गर्यौं। याम प्रसाद अधिकारी दाईको गाडी एम्बुलेन्स त बनेकै थियो, हामी जुटेर अन्तिम संस्कार समेत गर्यौं', अधिकारीका मित्र तथा तरुण दल भीरकोटका अध्यक्ष राजकुमार गुरुङ भावुक हुँदै सम्झन्छन्। कोरोनाको प्रभावले स्कूल बन्द हुँदा अनलाइन शिक्षा शुरु भयो। वडाअध्यक्ष याम प्रसाद अधिकारीले विद्यार्थीहरुका लागि निशुल्क इन्टरनेट सेवा शुरु गरे।
सम्भवतः विद्यार्थीका घरमा निशुल्क ईन्टरनेट सेवा शुरु गर्ने उनी प्रथम वडाध्यक्ष हुन्। आम जनताको सरोकारका विषयमा आफ्नो सबैकुरा समर्पण गरेर लागेका याम प्रसाद अधिकारीलाई स्थानीयले आफ्नो क्षेत्रको लोकप्रिय नेता मानेका छन्।
'अहिले वहाँ हाम्रो नगरको सफल वडाअध्यक्षमा गनिनु भएको छ। यताका जनताले त स्वर्गीय कमल पंगेनी पछि यो क्षेत्रमा एउटा सम्भावना भएको नेता हामीले पाएका छौं भन्न थालेका छन्,' स्थानीय बासिन्दा तथा कृषक शेषकान्त तिवारीले भने।
हालै, नेपाली काँग्रेस भीरकोटका सभापति निर्वाचित अधिकारी अहिलेको स्थानीय निर्वाचनमा नगर प्रमुखको प्रबल दावेदार र जित्ने उम्मेदवारका रूपमा हेरिएका छन्। भिजन भएका, उर्जावान, आम जनताको सरोकारका विषयमा होमिएका त्यागी नेतालाई नगर प्रमुखको रूपमा जिम्मेदारी दिएर नगरको विकासमा फड्को मार्न सकिने स्थानीय जनताको सोच रहेको छ।