काठमाडौँ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीको जोखिम अझै कायम रहेकाले लापरबाही नगर्न विज्ञहरुले चेतावनी दिएका छन् । संक्रमितको ग्राफ सामान्य देखिए पनि जोखिम कायमै रहेकोले सतर्कता अपनाउन छाड्न नहुने चिकित्सक तथा जनस्वास्थ्यविद्हरु बताउँछन् ।
नेपालमा अहिले दैनिक ३÷४ जना संक्रमित थपिँदै आएका छन् भने कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पनि सून्यमा झरेको छ । कोरोनाको ग्राफ ओरालो लागेकैलाई आधार मानेर सर्वासाधारणले भने मास्कसमेत पयोग गर्न छाडेका देखिन्छन् । तर अहिले नै हामीले यस्तो लापरबाही गर्न नहुने जनस्वास्थ्यविद् डा. शरद वन्तको चेतावनी छ । स्वास्थ्य सुरक्षाका मापदण्डलाई खुकुलो मात्र पारिएको भन्दै उहाँले यसलाई पूर्ण बेवास्ता गर्नु घातक हुने बताउनुभयो ।
नेपालमा कोरोनाविरुद्धको खोप अभियान पनि निरन्तर संचालन भइरहेका छन् । तर कोरोनाको ग्राफ घटेसँगै खोप लगाउनेको संख्यामा पनि कमि आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आंकडाले देखाउँछ । अहिले पनि खोप नलगाउने मानिस नै बढी जोखिममा रहेको डा. शेरबहादुर पुन बताउनुहुन्छ । तसर्थ खोप नलगाउनेहरु अझ स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा प्रतिवद्ध हुनुपर्ने उहाँ बताउनुहुन्छ ।
छिमेकी मुलुक चीनमा अहिले पनि कोरोनाको जोखिम उच्च छ । अहिले चीनमा रहेको कोरोनाको भेरिएन्ट यसअघि नेपालमा पुष्टि भइसकेको ओमिक्रोन हो । नेपाल अब ओमिक्रोन भेरिएन्टको जोखिमबाट मुक्त रहेपनि अन्य परिवर्तित भेरिटन्ट फेरि नआउला भन्न सकिने अवस्था नरहेको डा. पुन बताउनुहुन्छ ।
नेपालसहित विश्व नै कोरोनाको जोखिमबाट मुक्त नरहेको विज्ञहरु बताउँछन् । तसर्थ अझै पनि सबैले आफूले अपनाउन सकिने स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न छोड्न नहुने जनस्वास्थ्यविद् डा. वन्तको सुझाव छ । कम्तिमा मास्क तथा सेनिटाइजरको प्रयोग र सकेसम्म भौतिक दूरी पनि कायम राख्नुपर्नेमा उहाँको जोड छ ।
नेपालमा पछिल्लो समय कोरोना संक्रमणदर घटे पनि पूर्ण रुपमा मुक्त भइसकेको अवस्था छैन । आज पनि थप ४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ४४ जना संक्रमणमुक्त भएका छन् भने मृत्युको संख्या सून्य छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६१ हजार २७८ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।