काठमाडौँ । ओखलढुंगामा प्रहरी सवार जीप दुर्घटना हुँदा दुर्इ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ प्रहरी गम्भीर घाइते छन् । बुधबार बिहान हतियार मर्मतका लागि ओखलढुंगाबाट विराटनगरतर्फ हिँडेको बा१७च १०९४ नम्बरको जीप ओखलढुंगाकै मानेभञ्ज्याङ गाउँपालिका–६ स्थित भडारेखोलाका भिरबाट खसेको हो ।
मृत्यु हुनेहरूमा प्रहरी हवल्दार भूपेन्द्र कार्की र जवान मनीष राजवंशी छन् । गम्भीर घाइते ६ जनालाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको र प्रहरी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
ओखल्ढुंगा जिल्ला प्रहरी प्रमुख डीएसपी सुकदेव खनालका अनुसार जीपमा चालकसहित नौजना सवार थिए । चालकबाहेक आठजना नै प्रहरी हुन् । घाइते हुनेहरूमा इन्सपेक्टर ऋषिराज ढकाल, सई धनराज खतिवडा, असई नवराज दाहाल, वरिष्ठ हवल्दार विशाल श्रेष्ठ, भूपेन्द्र खनाल, जवान रुपक विष्ट र चालक लिलाप्रसाद खनाल छन् ।