Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ओम समाज डेन्टलद्धारा विशेषज्ञसहित निःशुल्क दन्त सेवा विस्तार

ओम समाज डेन्टलद्धारा विशेषज्ञसहित निःशुल्क दन्त सेवा विस्तार

  • सोमवार, चैत्र ७ २०७८

  • 1.1K
    SHARES

  • ओम समाज डेन्टलद्धारा विशेषज्ञसहित निःशुल्क दन्त सेवा विस्तार

    काठमाडौं –  मुख स्वास्थ्य दिवसको अवसरमा काठमाडौंको चन्द्रागिरि नगरपालिका–१४, नयाँ नैकापस्थित स्वास्थ्य चौकीमा विशेषज्ञसहितको दन्त सेवा सुरु गरिएको छ। स्वास्थ्य चौकीबाट यो सेवा निःशुल्क प्रदान गरिने छ। मुख र दाँत स्वस्थ राख्न सके विभिन्न रोगबाट बच्न सकिने भएकाले सर्वसाधारणलाई निःशुल्क दन्त सेवा उपलब्ध गराउन लागिएको हो।

    स्वास्थ्य चौकीमा आयोजित विशेष कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी र वडा नम्बर १४ का अध्यक्ष रामहरि बस्नेतले संयुक्तरुपमा निःशुल्क विशेषज्ञसहितको दन्त सेवा उद्घाटन गरेका हुन्। इन्द्र अन्नपूर्ण फाउन्डेसनको सहकार्यमा स्वास्थ्य चौकीमा सुरु गरिएको निःशुल्क विशेषज्ञसहितको दन्त सेवाका लागि ओम समाज डेन्टल अस्पतालले प्राविधिक सहयोग उपलब्ध गराउनेछ। १४ वडामा स्थापित फाउन्डेसन विभिन्न सामाजिक र स्वास्थ्य सेवामा क्रियाशील छ।

    निःशुल्क विशेषज्ञसहितको दन्त सेवा उद्घाटन कार्यक्रममा मेयर गिरीले मुख स्वास्थ्यबारे जनचेतना फैलाउन जरुरी भएको बताए। उनले नगरपालिकाभित्रका सरकारी स्वास्थ्य चौकीहरूमध्ये वडा नम्बर १४ मा पहिलोपटक निःशुल्क दन्त सेवा सुरु भएकोमा खुसी व्यक्त गरे। आगामी दिनमा यो सेवा नगरपालिकाका अरु वडामा पनि विस्तार गर्न अनुकरणीय र प्रेरणादायी हुने उनको विश्वास छ। उनले निःशुल्क दन्त सेवा प्रदान र विस्तारमा सहजीकरण गर्न नगरपालिका तयार रहेको पनि बताए। उनले ओम डेन्टल समाज अस्पतालले सरकारी स्वास्थ्य चौकीमार्फत पनि विशेषज्ञसहितको निःशुल्क दन्त सेवा उपलब्ध गराउन लागेकोमा प्रशंसा गर्दै सबै नागरिकको भलो हुने कार्यमा सबैले सहयोग गर्नुपर्ने बताए। नगरपालिकामा स्वास्थ्य सेवासँगै अन्य क्षेत्रको विकास र विस्तारमा पनि सबैको सहयोग आवश्यक रहेको उनले औंल्याए।

    वडाध्यक्ष बस्नेतले मुख स्वास्थ्यबारे हेलचेक्र्याइँ गर्न नहुने बताउँदै निःशुल्क दन्त सेवालाई निरन्तरता दिन सक्दो प्रयास गर्ने वचन दिए। सबैले दन्त सेवा लिएर मुख स्वस्थ राखुन भन्ने उद्देश्यले यसलाई निःशुल्क गरिएको उनले बताए। नगरपालिकाका १५ वडामध्ये १४ मा पहिलोपटक निःशुल्क दन्त सेवा सुरु भएको जानकारी दिँदै उनले यसका लागि सहयोग गर्ने इन्द्र अन्नपूर्ण फाउन्डेसन र ओम समाज अस्पताललाई धन्यवाद दिए।

    कार्यक्रममा मन्तव्य व्यक्त गर्दै ओम समाज डेन्टल अस्पताल र इन्द्र अन्नपूर्ण फाउन्डेसनका अध्यक्ष डा। सुभास घिमिरेले मुख स्वास्थ्य संवेदनशील विषय भएकाले यसबारे जनचेतना बढाउनुपर्नेमा जोड दिए। विशेषज्ञ दन्तचिकित्सक उनले मुख स्वस्थ राख्न सके विभिन्न किसिमका रोगबाट बच्न सकिने बताए। उनले मुख स्वस्थ राख्न सरसफाइ र खानपानमा ध्यान दिनुपर्ने, नियमित परीक्षण गराउनुपर्ने, व्याम गर्नुपर्ने, चिन्तामुक्त हुनुपर्नेलगायतका विषयमा सचेत हुनुपर्ने औंल्याए। यसो गर्दा मुखमात्र नभई पूरै शरीर स्वस्थ रहने र ९० प्रतिशतजति रोगबाट बच्न सकिने उनले बताए। यसैकारण सबैको पहुँचमा दन्त सेवा पुर्‍याउन निःशुल्क सेवा प्रदान गर्न लागिएको उनले प्रष्ट पारे। उनले सरकारी स्वास्थ्य संस्थासँग पनि सहकार्य गरी यो सेवा देशभर विस्तार गर्न आफू लागिपर्ने बताए।

    वडाका सामाजिक व्यक्तित्व रमेश कार्कीले स्वागत गरेको कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका प्रशासन प्रमुख निरज पौडेल र स्वास्थ शाखा प्रमुख राममणि घिमिरेले दाँत स्वास्थ्य सेवा विस्तारमा डा। घिमिरेले पुर्‍याएको योगदान अनुकरणीय रहेको बताए।

    कार्यक्रममा स्वास्थ्य चौकी र डेन्टल अस्पतालका तर्फबाट विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो।


    सोमवार, चैत्र ७ २०७८०७:५४:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij