काठमाडौं – दुई वर्षअघि काठमाडौंको बूढानीलकण्ठमा भएको सवारी दुर्घटनाका आरोपित दोषी ठहर भएका छन् । सोमबार काठमाडौं जिल्ला अदालतले आंशिक दावी पुग्ने ठहर गर्दै दोषी ठहर गरेको हो । आइतबार न्यायाधीश सूर्यप्रसाद अधिकारीको इजलासमा परेको उक्त मुद्दाको बहस नसकिएपछि उक्त मुद्दा हेर्दाहेर्दैमा परेको थियो । सोमबार बहस सकिएपछि काठमाडौं जिल्ला अदालतले आंशिक दावी पुग्ने ठहर गरेको हो ।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार चालकले लापरवाहीपूर्वक सवारीसाधन चलाएको पुष्टि भएको कारण उनलाई ६ महिना कैद र एकहजार रुपैयाँ जरिवानाको फैसला गरिएको छ ।
बूढानीलकण्ठमा भएको सवारी दुर्घटनामा चालकले अत्याधिक मदिरा सेवन गरी सवारीसाधन चलाएको र उक्त सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु भएपछि जिल्ला सरकारी वकिल कार्यालयले चालकलाई १० वर्षसम्म कैद सजायको मागदाबी गर्दै मुद्दा दर्ता गरेको थियो ।
काठमाडौं जिल्ला अदालतले आरोपीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो । उक्त आदेशविरुद्ध उच्च अदालत पुगेका चालकलाई उच्च अदालतले पनि थुनामै रहेर मुद्दाको पुर्पक्ष गर्ने जिल्ला अदालतको आदेश सदर गरेको थियो । तर सर्वोच्च अदालतले भने आरोपीसँग धरौटी लिई तारेखमा छाड्ने आदेश दिएको थियो ।
आरोपी चालक पृथ्वी मल्ल यसअघि नै करिब ७ महिना थुनामा बसिसकेको कारण अब उनले जरिवानास्वरुप एक हजार रुपैयाँ तिरे कैद र जरिवाना पूरा हुनेछ ।