काठमाडौँ । मधेसबाहेक देशका अन्य सबै प्रदेशमा आज वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी स्थानमा मौसम आंशिक बदली छ ।
आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी र हिमाली भेगमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य स्थानमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
यस क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ का धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । साथै देशका उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना महाशाखाको बुलेटिनमा उल्लेख छ ।
यस्तै, आज राति सुदूरपश्चिमलगायत कर्णाली, लुम्बिनी, गण्डकी र प्रदेश १ का उच्च पहाडी र हिमाली भेगमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य स्थानमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
यस क्रममा सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र प्रदेश १ का थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी र हिमाली भेगमा केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।