काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले महाशिवरात्रिको अवसरमा देश विदेशबाट पशुपतिनाथ आउने भक्तजनलाई कुनै पनि कुराको समस्या हुन नदिन निर्देशन दिनुभएको छ । पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहनुभएका मन्त्री आलेले बुधबार कोषका पदाधिकारीलाई पशुपतिमा आउने भक्तजनका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो ।
‘भव्य र सव्यरुपमा महाशिवरात्रि मनाउन सबै लागिपरौं,’ मन्त्री आलले भभनाइ छ, ‘भक्तजनलाई कुनै पनि कुराको समस्या नआओस् ।’ महाशिवरात्रिको समयमा पशुपति क्षेत्रलाई बिजुली बत्तीदेखि फूलहरुले सजाएर रङ्गीचङ्गी तथा झकिझकाउन गर्नसमेत उहाँले निर्देशन दिनुभएको छ ।
शिवरात्रि पर्वको समयमा देश विदेशबाट आउने भक्तजनलाई लाइनमा लगाउने, शुद्ध पानी, खानाको व्यवस्थालगायत कुरामा अहोरात्र खटिन र भव्य तथा सभ्यरुपमा सफल पार्न मन्त्री आलेको आग्रह छ । पशुपतिमा महाशिवरात्रि पर्वमा आउने भक्तजन भोकभोकै रातिदेखि लाइनमा बसेर बिरामी हुने भएकाले उनीहरुलाई उपचारका लागि तत्काल अस्पताल पु¥याउन एम्बुलेन्स तयारी अवस्थामा राख्नसमेत मन्त्री आलेले समितिका पदाधिकारीलाई निर्देशन दिनुभएको छ ।
महाशिवरात्रि पर्व यही फागुन १७ गते मङ्गलबार परेको छ । यस वर्ष पशुपति क्षेत्रमा कम्तीमा पनि १० लाख दर्शनार्थी दर्शनका लागि आउने अनुमान गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।