काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण हाल देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो पनि देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू–भागका केहि स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केहि स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
यस्तै, भोलि देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशको सुदूर पश्चिम, कर्णाली र प्रदेश १ का पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । शुक्रबार पनि देशको सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको साथै उच्च पहाडी र हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहनेछ ।