काठमाडौँ । सरकारले आगामी वैशाखमा विद्यालय तहको वार्षीक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । आउँदो शैक्षिक सत्रको पढाइ जेठ १ गतेदेखि सञ्चालन गर्नेगरी वैशाखमा परीक्षा सञ्चालन गर्ने निर्णय शिक्षा मन्त्रालयले गरेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बुधवार बसेको मन्त्रिस्तरीय बैठकले परीक्षालगायतका काम वैशाखभित्र सकेर जेठ १ गतेदेखि नयाँ शैक्षिक सत्रको पढाइ सुरु गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो ।
कोरोना महामारीका कारण विद्यालय बन्द गर्दा पढाइ प्रभावित भएकोले चैत महिनाभर पठनपाठन गर्ने र वैशाख महिनामा वार्षीक परीक्षा सक्ने निर्णय गरिएको उहाँले बताउनुभयो । यसकारले यस वर्षको एसईई आउँदो वैशाख ९ देखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।
स्थानीय तहले सञ्चालन गर्ने कक्षा १ देखि ९ सम्मका सबै परीक्षा वैशाखमा सक्ने निर्णय सरकारले गरेको हो । परीक्षाको नतिजा वैशाखभित्रै सार्वजनिक गर्ने, विद्यालयले बनाउने वार्षीक कार्ययोजना वैशाखभित्रै बनाउने र भर्ना तथा पाठ्यपुस्तकसमेत वैशाखभित्रै वितरण गरिसक्ने सरकारको तयारी छ ।