काठमाडौं – जुम्लाको तातोपानी गाउँपालिका–८ मा हिउँमा फसेका नागरिकलाई राहत दिएर हेलिकप्टर फर्किएको छ । गाग्रीलेकको पाटनमा जडिबुटी संकलन गर्न गएका सर्वसाधारण भारी हिमपातमा फसेपछि कर्णाली प्रदेश सरकारले हेलिकप्टरमार्फत राहत वितरणको व्यवस्था मिलाएको हो।
बिहीबारदेखि परेको हिमपातका कारण जडिबुटी संकलन गर्न पाटन गएका तातोपानी–८ का ३४ जना हिउँमा फसेका हुन् ।
स्थानीयका अनुसार गाग्रीको लेक ऐडी ओडारमा र खोटी सल्लामा बसिरहेका उनीहरूलाई राहत सामग्री दिएर हेलिकोप्टर फर्किएको हो ।
हिउँ बाक्लो जमेकाले उनीहरू सहजै घर फर्कने अवस्था नभएकाले प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले बताइन । सोही कारण उनकै पहलमा कर्णाली सरकारले खाद्यन्न खसालेको हो ।
हेलिकप्टरले ऐडि ओडार, गाग्री ओडार, खोटी सल्लामा बसेका नागरिकलाई राहत दिएर फर्किएको तातोपानी–८ का सुरतबहादुर शाहीले बताए ।
जडिबुटी (खिरौलो) कोर्न गएका गएका ३४ जना यहाँ फसेको खबर आएको उनले बताए । हेलिकप्टर ल्याड गर्ने अवस्था नभएपछि राहत वितरणको व्यवस्था मिलाइएको हो ।
यसअघि ५५ जना हिउँमा फसेको खबर आए पनि प्रशासनमा ३४ जनाको लिष्ट आएको प्रमुख जिल्ला अधिकारी प्रसाईले बताइन । उनले भनिन्, ‘राहत दिने स्थानमा २० जना जति देखिएको र सबै सहकुसल रहेको अनुमान छ ।’