काठमाडौं – नवलपुरको कावासोतीमा अटो चालक मृत फेला परेका छन् । कावासोती नगरपालिका वडा नं। १३ गैरी घर भएका ५२ वर्षीय माधवप्रसाद गिरी घर नजिकैको घोलमा मृत फेला परेका हुन् ।
कावासोती नगरपालिका वडा नम्बर १३ का अध्यक्ष विनोद रानामगरले गिरीको शव घर नजिकैको घोलमा गाडिएको अवस्थामा फेला परेको जानकारी दिए ।
रानामगरका अनुसार सडक छेउमा उनले चलाउने अटो रोकिएको र घोलको हिलोमा शव गाडेर माथिबाट कर्कलाको पातले छोपेर राखिएको अवस्थामा पाइएको छ ।
गएराति घरमै बसिरहेका गिरीलाई अपरिचित व्यक्ति आएर अटोमा पुर्याइदिन भनेपछि उनी घरबाट निस्किएका थिए । उनको हत्या भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको स्थानीयको भनाइ छ ।
नवलपुर प्रहरीका डिएसपी दिलिप कुमार गिरीले शवलाई अहिले खाल्डोबाट बाहिर निकालिएको र घटनाको अनुसन्धान भैरहेको बताए ।
अनुसन्धानका लागि बागमती प्रदेश प्रहरी कार्यालयबाट विशेष तालिम प्राप्त कुकुर मगाइएको उनले जानकारी दिए । घटनास्थलमा एसपी प्रज्ज्वल महर्जन पनि पुगेका छन् ।