काठमाडौँ । पश्चिमी वायुको सामान्य प्रभावका कारण हाल देशको पहाडी भू–भागमा आंशिक बदली तथा तराईका भूभागमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाको भनाइ छ । बाँकी भू–भागहरुमा सामान्य तथा आंशिक बदली रहने छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरुमा आंशिक बदली रहने महाशाखाको भनाइ छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै केही दिन मौसम सुधार नहुने महाशाखाले जनाएको छ । देशभर आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेकाले देशभर चिसो बढ्ने भन्दै आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।