Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

खोप अभियानको एक वर्ष : हाहाकार टर्‍यो, टोल–बस्तीमै पुगेर खोप !

खोप अभियानको एक वर्ष : हाहाकार टर्‍यो, टोल–बस्तीमै पुगेर खोप !

  • शुक्रवार, माघ १४ २०७८

  • 437
    SHARES

  • खोप अभियानको एक वर्ष : हाहाकार टर्‍यो, टोल–बस्तीमै पुगेर खोप !

    काठमाडौँ ।  विश्वव्यापी चुनौतीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण विरुद्धको खोप अभियान नेपालमा सुरु भएको आज एक वर्ष पूरा भएको छ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्ष अघि आजकै दिन खोप अभियानको शुभारम्भ गर्नुभएको थियो । त्यसको ५ महिनापछि नयाँ प्रधानमन्त्रीको जिम्ेवारी सम्हाल्नुभएका शेरबहादुर देउवाले खोप नै सरकारको पहिलो प्राथमिकता रहको बताउनुभएको थियो ।

    खोप अभियान सुरु भएको एक वर्ष पुग्र्दै गर्दा र पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै देउवाले सत्ता सम्हालेको साढे ६ महिना बित्दै गर्दा मुलुकले तेस्रो भेरियन्टसँग मुकाबिला गरिरहको छ । यद्यपि खोपकै कारण विश्वमै ज्यान गुमाउनेको संख्यामा कमि आएको स्वास्थ्य विज्ञ तथा अधिकारीहरुको दाबी छ ।

    परिवर्तित विभिन्न भेरियन्टबाट खोप लगाउने व्यक्ति कम जोखिममा रहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को दाबी छ । सोही अनुरुप नेपाल सरकारले पनि नागरिकलाई खोप लगाइरहेको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको तर्क छ । तोकिएको खोप केन्द्रमा विविध कारणले पुग्न नसकेका नागरिकलाईसमेत अहिले टोल र वस्तीमै पुगेर खोप दिने क्रम जारी रहेको उहाँले बताउनुभयो ।

    अभियान सुरु भएको एक वर्ष पुग्दै गर्दा मुलुकमा खोपको उपलब्धता सहज बन्दै गएको छ । नेपाल दक्षिण एशियामै धेरै प्रतिशत खोप लगाउने मुलुकको सूचीमा परेको स्वास्थ्य मन्त्रालयको जिकिर छ ।

    यो एक वर्षमा नेपालमा कोभिशिल्ड, अष्ट्राजेनेका, भेरोसेल, जोन्सन एण्ड जोन्सन, मोडर्ना र फाइजर खोप लगाइएका छन् । हालसम्म ४ करोड, २० लाख, ४९ हजार ६४० मात्रा खोप प्राप्त भएको र त्यसमध्ये ३ करोड, ६ लाख ४ हजार १५२ मात्रा लगाइसकिएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।

    स्वास्थ्यममन्त्री खतिवडाका अनुसार अहिले सरकारसँग प्रशस्त मात्रामा खोप मज्दात रहेको छ । सबैलाई खोप लाउन आग्रह गर्दै उहाँले कुनै पनि ठाउँमा खोप अभाव हुन नदिने प्रतिवद्धता दोहोर्‍याउनुभयो ।

    खोप अभियानलाई सक्रियाताका साथ अगाडि बढाइएकै कारण दोस्रो र तेस्रो लहरमा ठूलो जोखिमलाई कम गर्न सकिएको सरकारी दाबी छ । अहिले अग्रपंतिमा रहेर काम गर्ने झण्डै तीन लाख जनाले बुस्टर डोजसमेत पाएका छन् । माघदेखि बुस्टर जोड अभियान सुरु गर्ने आफूहरुको प्रतिवद्धता बमोजिम नै अहिले यो अभियान जारी रहेको मन्त्री खतिवडाको भनाइ छ । उहाँले फ्रन्टलाइनरलाई दिइसकेपछि वृद्धवृद्धा र यही माघको अन्मित साताबाट क्रमंशः सबै नागरिकलाईसमेत बुस्टर डोज दिइने बताउनुभयो ।

    खोप अभियानलाई हाहाकारबाट सहजतातिर डोर्‍याएपनि कोरोना परीक्षणलाई भने सरकारले अहिलेसम्म निशुल्क बनाउन सकेको छैन । पीसीआर परीक्षणका लागि तत्कालीन सरकारले तोकेको २ हजार बाट घटाएर एक हजार हुँदै अहिले ८ सय रुपैयाँमा पूर्णविराम लगाएको छ । निजी स्वास्थ्य संस्थाललाई त अझै १५ सय रुपैयाँ लिन सरकारको अनुमति छ ।

    एन्टीजेन मात्र नभई पीसीआर परीक्षण पनि निशुल्क गर्नुपर्ने जनस्तरबाट माग उठिरहेको छ । परिस्थिति अनुकूल हुँदै गएपछि अहिलेको शुल्कलाई घटाएर ५ सयमा झार्ने र पछि निशुल्क गर्ने स्वास्थ्य मन्त्री खतिवडाको भनाइ छ ।

    खोपको प्रभावकारिताकै कारण कोरोना महामारी केही हदसम्म विश्वमै सामान्य जस्तो हुँदै गएको छ भने यसप्रतिको बुझाइ पनि विगतको जस्तो भयभीत छैन । तर खोप तथा खोपजन्य सामाग्रीको विश्वव्यापी चुनौतीका बीच खोप अभियानलाई निरन्तरता दिनु सरकारसामू अर्को चुनौती छ । त्यसैले खोप व्यवस्थापन तथा समन्वयमा सरकारसँगै सम्बन्धित सबै निकायको दिव्यदृष्टि पुग्न जरुरी छ ।


    शुक्रवार, माघ १४ २०७८०७:५४:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij