काठमाडौं । काठमाडौ उपत्यकामा लगाइएको स्मार्ट लकडाउन बारे पुनविचार गरिने भएको छ । काठमाडौ उपत्यका भित्रका तीन जिल्ला काठमाडौ, ललितपुर र भुक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आजको बैठकले पुनर्विचार गर्ने भएको हो ।
कोरोनाको महामारी नियन्त्रणका लागि लगाइएका नियमहरुका बारेमा प्राप्त सुझाव र प्रतिक्रियाका आधारमा सुधार, शंसोधन गरिने काठमाडौका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो ।
उहाँले उपत्यकामा यातायातका साधन संचालनमा लगाइएको जोरविजोर प्रणाली हटाइने संभावना रहेको संकेत पनि गर्नुभयो ।
यातायातका साधन सञ्चालनमा जोर विजोर प्रणाली लागु गर्दा यातायातका साधनमा यात्रुहरुको भिड झन बढेर सङ्क्रमणको खतरा झन धेरै भएको भन्दै सर्वत्र आलोचना भएको थियो ।
उहाँले अरु नियमहरु पनि खुकुलो बनाइने संभावना रहेको जानकारी दिनुभयो । “दैनिक हजारौ संक्रमित भएको अवस्थामा पुरै खुल्ला गर्न त नमिल्ला, तर केही सुधार गर्ने निर्णय हुनसक्ला,” प्रमुख जिल्ला अधिकारी रिजालले भन्नुभयो ।
उहाँले खोप सेवा उपलब्ध गराउन चाहने नीजि अस्पतालहरुलाई पनि अनुमती दिएर खोप उपलब्ध गराइएको पनि जानकारी दिनुभयो ।