काठमाडौँ । काठमाडौँका विभिन्न १७ खोप केन्द्रबाट आजदेखि कोरोना खोपको बुस्टर डोज लगाइँदै छ । कोरोना संक्रमण बढ्दै जाँदा सरकारले बुस्टर डोज लगाउन सुरु गर्ने निर्णय गरेको छ ।
आइतबारबाटै लगाउने भनिए पनि काठमाडौँमा आजबाट बुस्टर डोज लगाउन लागिएको हो । बुस्टर डोज पहिलो चरणमा अग्रपंक्तिमा खटिनेहरुका लागि उपलब्ध हुने सरकारले जनाएको छ ।
स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार अहिले खोप सञ्चालन भइरहेका काठमाडौँ जिल्लाभित्रका १७ खोप केन्द्रबाट बुस्टर डोज लगाउन सकिने छ । जिल्ला खोप व्यवस्थापन एवं समन्वय समितिको बैठकले आजदेखि चालु खोप केन्द्रबाटै बुस्टर डोज लगाउन मिल्ने गरी निर्णय गरेको हो ।
काठमाडौँमा टेकु अस्पताल, प्रहरी अस्पताल, आर्मी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, प्रसुती गृह थापाथलीलगायत स्थानमा बुस्टर डोज लगाउन सकिने जनाइएको छ ।
बुस्टर डोज लगाउनका लागि यसअघि कोरोना विरुद्धको दुवै मात्रा खोप लगाएको कम्तिमा ६ महिना पूरा गरेको हुनुपर्ने छ । यसअघि जुन खोप लगाइएको थियो बुस्टर पनि सोही खोपको मात्रा लगाउनु पर्ने छ ।