Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

नेपालले अफगानिस्तानमा मानवीय सहायता सामग्री पठाउँदै

नेपालले अफगानिस्तानमा मानवीय सहायता सामग्री पठाउँदै

  • आइतवार, माघ २ २०७८

  • 381
    SHARES

  • नेपालले अफगानिस्तानमा मानवीय सहायता सामग्री पठाउँदै

    काठमाडौं । नेपालले अफगानिस्तानमा लत्ताकपडा, औषधि, भाँडाकुँडालगायत मानवीय सहायता सामग्री पठाउने तयारी गरेको छ । परराष्ट्र मन्त्रालयको नेतृत्वमा हिमालयन एयरलाइन्सको विमानमार्फत झन्डै १२ टन मानवीय सहायता सामग्रीसहित एक टोली आज त्यसतर्फ जान लागेको मन्त्रालयले जनाएको छ ।

    परराष्ट्रमन्त्री डा नारायण खड्काले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को सदस्य राष्ट्रको नाताले अफ्ठ्यारोमा सहयोग गर्नुपर्ने नैतिक जिम्मेजारी ठानेर अफगानिस्तानमा मानवीय सहयोग सामग्री पठाउन लागेको राससलाई जानकारी दिनुभयो । आज सहयोग सामग्री हवाईजहाज अफगानिस्तानको राजधानी काबुल जाने र विमानस्थलमा रहेको संयुक्त राष्ट्र सङ्घको कार्यालयका प्रतिनिधिमार्फत सामग्री हस्तान्तरण गरिने उहाँले बताउनुभयो ।

    सङ्घको समन्वयमा आवश्यकताअनुसार खाद्यान्न, लत्ताकपडा, औषधि, आवश्यक घरायसी सामान, भाँडाकुँडा नेपाली जनताका तर्फबाट आफगान जनतालाई पठाउन लागिएको हो । नेपालको इतिहासमा पहिलो पटक यसरी हवाईजहाजमार्फत मानवीय सामग्री लिएर अन्य राष्ट्रलाई सहयोग पठाउन लागेको मन्त्री खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी ठूला प्राकृतिक तथा दैविक विपद्मा विभिन्न राष्ट्र तथा निकायबाट सहयोग त लिन्छौँ नै तर पनि यस कार्यले नेपाल सदैव सहयोग लिने मात्र होइन, आवश्यक पर्दा अन्य राष्ट्रलाई सहयोग गर्न पनि पछि पर्दैन भन्ने सन्देश जानेछ ।”

    अन्तर्राष्ट्रिय सम्बन्धको दृष्टिकोणबाट यो एक महत्वपूर्ण मिसन र अभियान भएको बताउँदै उहाँले यस अभियानमा संयुक्त राष्ट्र सङ्घ, नेपालका उद्योगी, व्यापारी, हिमालयन एयरलाइन्स, नेपाल आयल निगमलगायतको ठूलो सहयोग रहेको उल्लेख गर्नुभयो । यस सहयोग अभियानमा सरकारलाई कुनै दायित्व नपर्ने गरी सबै सामग्री निःशुल्क रुपमा प्राप्त गरी पठाउन लागिएको हो ।

    मन्त्री खड्काले अफनानिस्तानको पछिल्लोे समस्याका बारेमा मिडियामा देखे सुनेपछि नै सुरुदेखि नै आफ्नो मनमा यो ‘आइडिया’ आएको र त्यसका लागि विभिन्न कूटनीतिक माध्यमबाट पहल गरी नेपाल सरकार, मन्त्रिपरिषद्मार्फत यो अभियान अघि बढेको जानकारी गराउनुभयो ।

    यस कार्यलाई अघि बढाउने सन्दर्भमा नेपालमा रहेका सम्बन्धित विभिन्न देशमा राजदूतसँग परामर्श र छलफल गरी अन्तिम रुप दिएको उहाँले बताउनुभयो । सहयोग सामग्री पठाउँदा विमान प्रस्थानका क्रममा बाटोमा पर्ने मुलुक पाकिस्तान र भारतको ‘एयर स्पेस’ पनि स्वीकृति प्राप्त भइसकेको छ । टोलीमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, उद्योगी व्यापार संस्थाका प्रतिनिधि, सञ्चारकर्मीलगायत रहनुभएको छ ।


    आइतवार, माघ २ २०७८०७:३४:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij