तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानी हटियामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । शुक्रबार साँझ ग१ज ६५५५ नम्बरको जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ज्यान गुमाउनेमा ९ महिने बालिका आरुबी थापा, २४ वर्षीय रोशन गुरुङ, ४२ वर्षीया सुशीलादेवी न्यौपाने र ५३ वर्षीय हरिबहादुर न्यौपानेको घटनास्थलमै र ७६ वर्षीया भीममाया गुरुङ र ४३ वर्षीय सुकबहादुर गुरुङको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ ।
घुमाउनेबाट धरमपानीका लागि छुटेको जिप सडकबाट अन्दाजी एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइते सबैको बन्दीपुर अस्पतालमा सामान्य उपचारपश्चात् थपको उपचारका लागि चितवन रिफर गरिएको छ । जिपको चालक फरार रहेको प्रहरीले जनाएको छ ।