Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

आज माघे संक्रान्ति पर्व मनाइँदै

आज माघे संक्रान्ति पर्व मनाइँदै

  • शनिवार, माघ १ २०७८

  • 565
    SHARES

  • आज माघे संक्रान्ति पर्व मनाइँदै

    काठमाडौँ । माघे संक्रान्ति पर्व आज देशभर मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ ।

    यसैले आजको दिन देवघाट, त्रिशुली, कालीगण्डकी, बागमती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् ।

    बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जनविश्वास छ ।

    माघे संक्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने आयुर्वेदका चिकित्सकको भनाइ छ ।

    आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ । सूर्य उत्तरायण भएपछिको मृत्युलाईसमेत उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले ईच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेका थिए ।

    यस्तै, यस वर्ष माघ ३ गतेदेखि श्री स्वस्थानी व्रतकथा शुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यो व्रत गर्नेले चान्द्रमास अनुसार माघ महिनाभर स्नान गरी नित्य मध्याह्नकालमा श्रीमहादेवको पूजा आराधना गर्छन् ।


    शनिवार, माघ १ २०७८०६:३५:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij