काठमाडौँ । कोरोना महामारी फेरि फैलिएको बेला चिकित्सकहरुले खोप नलगाएका बालबालिकाहरु सबैभन्दा बढी जोखिम रहेको बताएका छन् । उनीहरुले अहिले सबैभन्दा बढी सचेत बालबालिकाका लागि हुनुपर्नेमा जोड दिएका छन् ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा वरिष्ठ चिकित्सक डा. ढुण्डीराज पौडेलले बालबालिकालाई सङ्क्रमण हुनबाट जोगाउन उच्च सतर्कता अपनाउनु पर्नेमा जोड दिनुभयो ।
खोप लगाउन मिल्नेहरुमध्ये धेरैले खोप लगाएकाले उनीहरु जोखिममा नरहेपनि खोप लगाउन नमिल्ने बालबालिकाहरु नै बढी जोखिममा रहेको उहाँले स्पष्ट पार्नुभयो । बालबालिकाहरुलाई भीडभाडमा नलैजाने, अन्य रोगहरुबाट पनि जोगाउने, खानपिन तथा स्वास्थ्यमा ध्यान दिने र सकेसम्म चाँडो बालबालिकालाई पनि खोपको व्यवस्था गर्नु पर्ने डा पौडेलको भनाइ छ ।
उहाँले धेरै ठाउँमा खोप कार्ड देखाउनु पर्ने व्यवस्था भएपछि खोप लगाउन खोज्नेहरुको भीड बढेकोप्रति पनि चिन्ता व्यक्त गर्नुभयो । खोप लगाउने नाममा खोप केन्द्रमै भीडभाड भएर त्यहीँबाट सङ्क्रमित बढ्न सक्ने भएकाले खोप केन्द्ररुमा पनि भीड हुन नदिने र सामाजिक दुरी कायम गराउनु पर्नेमा उहाँले बताउनुभयो ।
सबै निकाय कोरोनामा केन्द्रित हुँदा अन्य स्वास्थ्य सेवा प्रभावित हुन थालेको र कतिपय अत्यावश्यक कामहरु पनि अवरुद्ध भएकोप्रति डा. पौडेलले ध्यानाकर्षण गराउनुभयो ।