मेडिकल सिटीका रूपमा परिचित चितवनमा निजी खर्चमा पीसीआर परीक्षणको व्यवस्था हुन सकेको छैन । यहाँस्थित भरतपुर अस्पताल र चितवन मेडिकल कलेजसँग पीसीआर जाँच गर्ने प्रयोगशाला रहेका छन् । भरतपुर अस्पतालले सञ्चालन गरेको कोभिड(१९ प्रयोगशालामा मात्र स्वास्थ्य मन्त्रालयको निर्देशिकाअनुसारको परीक्षण भइरहेको छ ।
निजी खर्चमा परीक्षण गर्न चाहनेलाई सो प्रयोगशालामा सुविधा छैन । चितवन मेडिकल कलेजको प्रयोगशालाले भने हालसम्म अनुमति पाएको छैन । जिल्लामा परीक्षण गर्न चाहनेको सङ्ख्या बढ्दो रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारी पैसा तिरेर परीक्षण गर्न चाहना राख्नेको सङ्ख्या निकै भएको बताउँछन् । उनले भने, ‘दैनिक धेरै फोन त्यसै विषयलाई सोध्नेको आउने गर्दछ ।’ सर्वसाधारणलाई बुझाउनै कठिन हुने गरेको उनले जानकारी दिए ।
यहाँका प्रयोगशालालाई निजी खर्चमा परीक्षण गर्न दिएमा सहज हुने बताइएको छ । चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा। डा। हरिशचन्द्र न्यौपाने आफूहरूले ५ करोड ४० लाख खर्च गरेर प्रयोगशाला निर्माण गरे पनि स्वास्थ्य मन्त्रालयले अनुमति नदिएको बताए ।
प्रयोगशालाका लागि आवश्यक सबै तयारी गरिएको छ । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा। भोजराज अधिकारीले आफूलाई पनि स्वास्थ्य मन्त्रालयको निर्देशिका बाहिरका व्यक्तिले परीक्षणका लागि निकै सोध्ने गरेको जानकारी दिए । उनले भने, ‘म आज काठमाडौं जाँदै छु । यस विषयमा मन्त्रालयमा कुरा राख्ने छु ।’ भरतपुर अस्पतालमा दैनिक पीसीआर परीक्षणका लागि सर्वसाधारण आउने गरेका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रमुख डा। लुना झाले भरतपुर अस्पतालले हालसम्म रकम तिरेर परीक्षणका लागि माग नगरेको बताइन् ।
त्यसैगरी चितवन मेडिकल कलेजले हाल माग गरेकाले समय मिलाएर प्रयोगशालाको निरीक्षण गरी मापदण्ड पुगेको पाइएमा अनुमति दिइने उनले जानकारी दिइन् । स्वास्थ्य मन्त्रालयको यही १४ साउनको निर्देशिकाले रुघाखोकी, स्वासप्रस्वासमा समस्या भएका, गन्ध थाहा नपाउने र पखाला लागेकालाई पीसीआर परीक्षण गर्ने उल्लेख छ । त्यसैगरी सङ्क्रमितसँग प्रत्यक्ष भेटघाट भएका, अरू कारण पत्ता नलागेका ज्वरोका बिरामी, सङ्क्रमितसँग प्रत्यक्षरूपमा काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारीको परीक्षण गर्ने निर्देशिकामा उल्लेख छ ।
यसैगरी १४ दिनभित्र सङ्क्रमण फैलिएको क्षेत्रबाट आएका, सघन उपचार कक्षमा उपचार गराइरहेका, प्रतीरक्षा क्षमता कमजोर भएका, ६० वर्ष नाघेका, शल्यक्रिया गर्न तयारी अवस्थामा रहेकाको परीक्षण गर्ने मन्त्रालयको निर्देशिकामा उल्लेख छ । कोरोना सङ्क्रमण भई १४ दिन काटेका तर लक्षण भएकालाई पनि परीक्षण गर्ने गरिएको छ । त्यसबाहेकका व्यक्तिले रकम तिरेर पनि यहाँ परीक्षण गर्ने अवसर नपाएका हुन् ।
सरकारले राजधानीसहित विभिन्न जिल्लामा रकम तिरेर परीक्षण गर्न चाहनेका लागि अवसर दिएको भए पनि यहाँ दुवै प्रयोगशालाले त्यस अवसर नपाउँदा सर्वसाधारण प्रभावित भएका हुन् । भरतपुर अस्पतालको प्रयोगशालाले निर्देशिकाअनुसारका व्यक्तिको दैनिक १ सय ५० हाराहारी परीक्षण गर्दै आएको छ ।
यस प्रयोगशालाले चितवनसहित १० जिल्लाका नमुना परीक्षण गर्दै आएको छ । हालसम्म जिल्लामा कोरोना सङ्क्रमण भएकाको सङ्ख्या १ सय १६ पुगेको छ । रासस