काठमाडौँ । केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण धनुषा र सप्तरीमा गरी दुई जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका–४ का ६५ वर्षीय देवनारायण ठाकुर रहेका छन् ।
यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला समन्वय समितिका प्रमुख रामदेव बनरैत यादवले जानकारी दिनुभयो । यस्तै चिसोले कठ्याङ्ग्रिएका सप्तरीका ठाकुरको उपचारका लागि अस्पताल लैजान नपाउँदै मृत्यु भएको गाउँपालिका उपाध्यक्ष ममता यादवले बताउनुभयो ।
अत्यधिक चिसो र शीतलहरले जनजीवन कष्टकर बन्दै गएपछि धनुषाका चार स्थानीय तहले विद्यालय बन्द गरेका छन् । क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका, मुखियापट्टी गाउँपालिका र लक्ष्मीनियाँ गाउँपालिकाले सूचना जारी गरी विद्यालय बन्द गरिएको जनाएका छन् ।
यसैबीच, देशमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त प्रणालीका कारण हाल देशका अधिकांश भू–भागमा, आंशिक देखि सामान्य बदली रहेको छ ।
पश्चिमी तथा मध्य तराईका जिल्लाहरुमा बाक्लो हुस्सु÷कुहिरो लागेको महाशाखाको भनाइ छ । अन्यत्र भने मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहने छ । सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसँगै केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
आज राति पनि देशभर सामान्य बदली रहने छ । सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसँगै केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।