काठमाडौं । सरकारले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका र घर फर्कन टिकट काट्न नसक्ने नेपालीको निःशुल्क उद्धार थालेको छ । कोरोना महामारीको कारण विदेशमा रोजगारी गुमाएका र घर फर्कन टिकट काट्न नसक्ने अवस्थामा रहेकाको वैदेशिक रोजगार कल्याणकारी कोषको रकममार्फत सरकारले उद्धार गर्ने निर्णय गरेको छ ।
जसअनुसार सरकारले तोकेको मापदण्डमा पर्ने श्रमिकको उद्धारका लागि विभिन्न देशमा रहेका नेपाली दूतावासले आवेदन दिन अनुरोध गरेका छन् । दूतावासले तोकेको निवेदन ढाँचा अनुसार आफ्नो विवरण भरेर दूतावासमा उपस्थित भएर वा इमेलमार्फत पठाउन सकिनेछ । निवेदन दिँदा राहदानी र रोजगारी करार पत्रको प्रतिलिपि पनि पेश गर्नुपर्नेछ ।
दूतावासले आवेदकको आवेदनमाथि आवश्यक जाँचबुझ गरी निजको विवरण परराष्ट्र मन्त्रालयमार्फत वैदेशिक रोजगार बोर्डमा पठाउने र बोर्डको कोषबाट रकम निकासा भएपछि टिकट उपलब्ध गराउने जनाइएको छ ।
सरकारले नेपालबाट श्रम स्वीकृति वा पुनः श्रम स्वीकृति लिएर गएका, तीन वर्ष ननाघेको व्यक्तिले रोजगारी गुमाएको र घर फर्कन रोजगारदाताले टिकट नदिएको भएमा मात्र टिकट उलब्ध गराउने जनाएको छ ।