काठमाडौँ । बंगलादेशको ढाकामा आयोजना हुने एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगिता खेल्न जाने राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीको बिदाइ गरिएको छ । ढाकामा पुस ६ देखि १४ सम्म हुने प्रतियोगिताका लागि दुवै टोली सोमबार दिउँसो सवा १२ बजे त्यसतर्फ प्रस्थान गर्नेछन् ।
दुवै टोलीलाई आज नेपाल भलिबल संघका कार्यबाहक अध्यक्ष यम गुरुङ, युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, र उपाध्यक्ष निरोज मास्केलगायतले बिदाइ गरे । मन्त्री गहतराजले दुवै टोलीलाई बिदाइ गर्दै सम्पूर्ण समस्या भुलेर उच्च मनोबलका साथ जितेर आउन शुभकामना दिए ।
ढाकामा हुने प्रतियोगितामा महिलातर्फ नेपालसहित आयोजक बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तान सहभागी हुनेछन् । यसअघि महिला टोलिले बंगलादेशमा नै भएको सेन्ट्रल जोनको पहिलो संस्करणमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएर ऐतिहासिक स्वर्ण पदक जितेको थियो ।
यस्तै, पुरुषतर्फ नेपालसहित आयोजक बंगलादेश, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले सहभागिता जनाउने छन् । नेपालमै भएको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा नेपाली टोली समूह चरणबाटै बाहिरिएको थियो।
राउन्ड रोबिन पद्धतिको आधारमा हुने खेलमा शीर्ष दुई टोलीले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन्। करिव एक महिनाको प्रशिक्षणपछि नेपाली टिम ढाका जान लागेको हो । प्रतियोगिताका लागि महिला टिमको प्रशिक्षकमा जगदिश भट्ट रहेका छन भने पुरुष टिमको प्रशिक्षकमा हान अबिङ रहेका छन ।
यसपटक नेपाली महिला टिममा केहि परिवर्तन गरिएको छ । जसमा लक्ष्मी चन्दले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएकी छिन भने कृपा अधिकारी र मनिषा चौधरीले कमब्याक गरेकी छिन । प्रतियोगितामा महिला टिममा १२ खेलाडी जानेछन ।
यस्तै पुरुष टिममा पनि इम रानामगरको कप्तानीमा १२ खेलाडीको टिम जाने छन । जसमा यो पटक टिममा मानबहादुर श्रेष्ठ र भैरब बमले कमब्याक गरेका छन ।
नेपाली पुरुष टिम :
ईम राना मगर, हरि हजुर थापा, मान बहादुर श्रेष्ठ, धनबहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, टेकराज अवस्थी, हरि बहादुर अधिकारी, दुर्गा बहादुर खड्का, भैरव बहादुर बम, शरण समारी क्षेत्री, विशाल विक विनोद चन्द
नेपाली महिला टिम :
अरुणा शाही, प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, उषा भण्डारी, सफिया पुन, सुनिता खड्का, मनिषा चौधरी, कृपा अधिकारी, कामना विष्ट, लक्ष्मी चन्द, सलिना श्रेष्ठ