काठमाडौँ । देशका अधिकांश स्थानमा आज मंगलबार बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी निम्नचापीय प्रणाली तथा भारतको बंगालको खाडी र पश्चिम बंगाल–बंगलादेश आसपास रहेको न्यून चापिय क्षेत्रको प्रभावका कारण बदली रहने महाशाखाले उल्लेख गरेको छ ।
देशका केही भागमा आज वर्षा तथा उच्चपहाडी क्षेत्रमा हिमपात हुने छ । आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनासमेत छ । यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति पनि प्रदेश १ र बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।