काठमाडौँ । दक्षिण अफ्रिकी मुलुकमा फेला परेको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले विश्वभर नै तरंग पैदा गरेको छ । यसअघि फेला परेका भन्दा थप शक्तिशाली यो भेरिएन्ट अहिले छिमेकी मुलुक भारतसहित विश्वका २२ भन्दा बढी देशमा फैलिसकेको छ ।
दक्षिण अफ्रिकामा कोरोना भाइरसको अस्वाभाविक तीव्रता बढ्दै गएपछि ९ नोभेम्बरमा संकलन गरिएको नमूनाको जेनेटिक विश्लेषण गर्दा यो पत्ता लागेको थियो । विश्व स्वास्थ संगठनले २६ नोभेम्बरमा प्रेस विज्ञप्तिमार्फत् ओमिक्रोन भेरियन्ट नामकरण गरेको यसलाई भेरियन्ट अफ कन्सर्न अन्तर्गत राखिएको छ ।
प्रारम्भिक नतिजाले अरू भेरियन्ट अफ कन्सर्नका भाइरसभन्दा ओमिक्रोन भेरियन्ट ले बढी रि–इन्फेक्सन (पुनः संक्रमण) गराउन सक्ने क्षमता देखाएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका डा. शेरबहादुर पुनले बताउनुभयो ।
छिमेकी मुलुक भारतमै पुष्टि भएपछि नेपालमा थप जोखिम बढेको डा. पुन बताउनुहुन्छ । विगतमा पनि बेलायत र भारतलगायतमा मुलुकमा पुष्टि भएको अल्फा र डेल्डा भेरियन्ट पुष्टि भएको केही समयपछि नै नेपालमा भेटिएकाले नेपाल उच्च जोखिममा परिसकेको उहाँले बताउनुभयो ।
भारतसँग खुल्ला सीमाना र अन्य देशहरुसँग सहज हवाई आवतजावत रहेकाले विमानस्थलबाट सबैभन्दा बढी भित्रिने सम्भावन रहेको भन्दै डा. पुनले उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिनुभयो ।
ओमिक्रोनबारे अहिले विज्ञहरु नै अस्पष्ट छन् । यसबारे थप अनुसन्धान भइरहेको उनीहरुले बताएका छन् । यसले क्लिनिकल्ली कस्तो असर देखाउँछ भन्नेबारे अहिलेसम्म स्पष्ट भइनसकेको राष्ट्रिय जनस्वास्थ्य टेकुका निर्देशक डा. रुणा झाले बताउनुभयो ।
विज्ञहरुका अनुसार अहिले नेपालसहितका मुलुकमा भइरहेका एन्टिजेन र पीसीआर परीक्षणबाट ओमिक्रोन भेरियन्ट पत्ता लाग्दैन । यसका लागि सिक्वेन्सिङ नै गर्नुपर्ने डा. झा बनाउनुहुन्छ । नेपालमा पनि सिक्वेन्सिङ निरन्तर भइरहेको बताउँदै उहाँले अहिलेसम्म नेपालमा भने यो भेरियन्ट पुष्टि भइनसकेको स्पष्ट पार्नुभयो ।
यता, सरकारले नयाँ भेरियन्टलाई रोक्न तथा कम क्षति गराउन नागरिक आफै सचेत र सतर्क हुनुपर्ने बताएको छ । कोरोना संक्रमण तथा यसका विभिन्न भेरियन्टबाट जोगिन स्वास्थ्यसम्बन्धी सुरक्षाको मापदण्ड पालना नै मुख्य रहेको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले बताउनुभयो ।
भारतमा ओमिक्रोन भेरियन्ट फैलिन सुरू भएकाले नेपालमा आउनबाट पूर्णरूपमा रोक्न लगभग असम्भव छ । त्यसकारण यसबारे आमनागरिकसहित सम्बन्धित सबै सजग र सतर्क रही रहेकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नु/गराउनु र खोप कार्यक्रमलाई थप तीव्रता दिनु तथा प्रभावकारी बनाउनु नै अहिलेको आवश्यक्ता हो ।