Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

आज हरिबोधिनी एकादशी पर्व मनाइँदै

आज हरिबोधिनी एकादशी पर्व मनाइँदै

  • सोमवार, कार्तिक २९ २०७८

  • 584
    SHARES

  • आज हरिबोधिनी एकादशी पर्व मनाइँदै

    काठमाडौँ । आज कार्तिक शुक्ल एकादशी । औषधिको गुणले युक्त तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै छ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् विष्णुको विवाह र विशेष पूजा गरी मनाउने वैदिक परम्परा छ ।

    आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने मान्यता अनुसार आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् ।

    हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर आज विवाह गरिन्छ । कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।

    आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरुपमा पनि लाभदायक प्रमाणित भएको छ । तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलो लगायत रोगका लागि औषधि हुन्छ । यसको रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन भने तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन । तुलसीबाट बनेको चिया मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयुक्त मानिन्छ ।

    आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ । किसानले उखुको बोट मठमा गाड्छन् । आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र तरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । आजका दिन काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा विशेष मेला लाग्दछ । आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइँदै छ ।


    सोमवार, कार्तिक २९ २०७८०६:५९:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij