काठमाडौँ । किरात धर्म, संस्कार संस्कृतिको उत्थान तथा संरक्षणमा महत्वपूर्ण योगदान पु¥याएका महागुरु फाल्गुनन्दको १३७औं जन्मजयन्ती स्वदेश तथा विदेशमा आज भव्यताका साथ मनाइँदै छ । फाल्गुनन्दले समाजसुधारका लागि खेलेको भूमिकाको कदर गर्दै हरेक वर्ष कात्तिक २५ गते जन्मजयन्ती मनाउने गरिन्छ ।
विशेषगरी पूर्वी पहाडी जिल्लाहरु पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापालगायतमा फाल्गुनन्द जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइन्छ । वि. सं. १९४२ कातिक २५ गते इलाममा जन्मिएका फाल्गुनन्दको निधन वि. सं. २००५ मा भएको थियो । उहाँले जीवनको अन्तिम समयसम्म किराँत भाषा, लिपि, संस्कार, संस्कृति र समाज सुधारका निम्ती काम गर्नुभएको थियो ।
फाल्गुनन्दले समाज सुधारका निम्ति वि. सं. १९८८ वैशाख २४ गते स्थापना गरेको ‘सत्य हाङ्गमा मुचुल्का’को नीति चर्चित छ । फाल्गुनन्दलाई २०६६ साल मंसिर १६ गते तत्कालीन प्रधानमन्त्री माधव नेपाल नेतृत्वको सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो ।